काठमाडौं । नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म हिन्दुहरुले धुमधामका साथ मनाउने गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैंको पहिलो दिन आज घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्छ । चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए । दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
यहाँ हामीले दशैंमा भक्तजनहरु धेरै जाने र आगामी दिनमा पनि उपस्थिती रहने केही मन्दिरहरुको चर्चा गर्ने प्रयास गरेका छौं । यहाँ काठमाडौं उपत्यकाका उल्लेख्य मन्दिरहरुको बारेमा प्रस्तुत गरेका छौं ।
भद्रकाली
भद्रकाली जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनै ’भद्रकाली’ हुन् । दुर्गा सप्तसती (देवी महात्म्य र चण्डी पाठ) मा दुर्गालाई देहाय का ११ नामले बन्दना गरिएको छ । ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः’ ।
चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धति अनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन् । दुर्गा कवचमा उल्लेख भए अनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो । यसलाई कतै कतै लुमडीस्थान पनि भनिन्छ ।
विभिन्न वंशावलीका अनुसार काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन् । यहाँ पनि दशैंको घटस्थापनासँगै दशैंभरि नै विशेष पूजा गरिन्छ भने वर्षभरि नै सदाबहार रुपमा भक्तजनहरुको उपस्थिती बाक्लो रहने गरेको छ ।
दक्षिणकाली
दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा रहेको छ । राजधानीको बल्खुबाट करिब २० किमिको दुरीमा रहेको यस मन्दिरमा हरेक शनिबार र मंगलबार विशेषरुपमा भिड हुने गर्दछ । यहाँ भाकल राखेर बलि चढाउने भक्तजनहरुको संख्या उल्लेख्य छ । यो कालीदेवीको मन्दिर हो ।
यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई खोलाहरुको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताका मूर्ति पनि छन् । यहाँ मन्दिर मात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएका स्थलहरु पनि छन् ।
तत्कालिन राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । मूलतः दशैंको बेला यहाँ विशेष मेला लाग्छ । दशैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी छ ।
नक्साल भगवती
नक्साल भगवती काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठ मध्येको एक हो । यस मन्दिरमा सोह्र भूजायुक्त (१६ वटा हात भएकी) देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौं उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।
यस मन्दिरमा विभिन्न भाकल राख्ने र पूजाआजा गर्नेहरुको उपस्थिती उल्लेखनिय रहने गरेको छ । दशैंको समयमा त यहाँ निकै नै भिड हुने गरेको छ । मनले चाहेको पूरा हुने विश्वासमा यहाँ भक्तजनहरुको उपस्थिती रहने गरेको छ ।
तलेजु भवानी
तलेजु भवानी मन्दिर काठमाडौं दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवारक्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।
त्यसक्षेत्रका अन्य महत्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप आदि । मन्दिरै मन्दिरको यसक्षेत्रमा देशविदेशका पर्यटकहरुको पनि विशेष उपस्थिती रहने गर्दछ ।
शोभा भगवती
शोभा भगवती काठमाडौंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठ हो । प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ । यहाँ रहेको ऐतिहासिक महत्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो । मूर्तिमा भगवतीको बयान गर्दा विविध आयुधहरू समातेको, महिषासुरको दमनको रूपमा छ ।
शोभा भगवतीको मूर्ति तान्त्रिक आधारमा बनाइएको छ । तन्त्रशास्त्रमा यिनीलाई ‘बगला’ पनि भन्ने गरिन्छ । नेपालीहरूको जनजीवनमा अत्यन्त शुभकारिणी भगवती भनेर मान्ने यी भगवतीलाई शुभा भगवती पनि भन्ने गरिएको पाइन्छ । नवौँ शताब्दीतिर मातृका देवीका अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभा भगवतीको पनि स्थापना गरेको अनुमान छ ।
नेपालमा शक्तिपूजाको परम्परा निकै पुरानो छ । त्यतिबेला भक्तजनहरूले गाउँगाउँ, टोलटोल, पीठपीठमा, मूलबाटो, देवालय, मन्दिरमा शक्तिपूजाका लागि देवदेवीहरूको मूर्ति स्थापना गरेका थिए । नेपालमा पनि शक्तिपूजाको सुरुवात निकै पुरानो भएकोले विभिन्न भगवतीहरूको स्थापनाको सिलसिलामा शोभा भगवतीको पनि स्थापना भएको हुनुपर्छ भन्ने कथन छ ।
काभ्रेको पलाञ्चोक भगवती, राजधानीकै नक्साल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकारले बनाएको किम्बदन्ती रहेको छ । मूर्तिकारहरूले यसमा आफ्नो कुशल कलाकारिता देखाएकोले पनि भगवतीको मूर्ति निकै प्रभावशाली भएको छ ।
मैतिदेवी मन्दिर
राजधानी काठमाडौंको मैतीदेवीमा अवस्थित मैतीदेवी मन्दिर उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ । चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ । यस मन्दिरको बडादशैका बेला विशेष महत्व छ ।
जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई माइती देवी हुँदै मैतीदेवी भन्ने गरिएको हो ।
त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे । त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए । त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए । त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए । पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन् । त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन् ।
बंगलामुखी
मनोकामना पुरागर्ने अर्थात मानिसले इच्छाएको पुरा गर्ने देवीका रुपमा पुजिने ललितपुरको बंगलामुखी मन्दिरको विशेष महत्व छ । हरेक साताको बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ । बंगलामुखीलाई दुर्गा भगवतीको एउटा महत्वपूर्ण अंशका रुपमा पुजा गरिन्छ । जसलाई महिमासंग रोजगारी दिलाउनेदेखि सन्तान प्राप्ती तथा दुःख दरिद्र हरण गरी सुख समृद्धि बृद्धिगर्ने देवीका रुपमा पुज्ने गरिएको छ ।
बंगलामुखी माताको दर्शन गर्नाले मनमा शान्ति तथा शितलता बढ्नुका साथै सधै प्रगतिको बाटोमा मार्ग निर्देश गर्न बाटो प्रशस्त हुन्छ भन्ने धार्मिक बिश्वास रहि आएको छ । जहां हरेक साताको बिहीबार देवीको स्तुती गर्नेको भिड लाग्छ । बंगलामुखीलाई महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ ।