शीर्षकहरू

वर्षाले अन्नबाली नष्ट हुँदा पाँच करोडको क्षति

वर्षाले अन्नबाली नष्ट हुँदा पाँच करोडको क्षति
फाइल फोटो

बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा  गरी रु एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ ।

“हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ । विवरण सङ्कलन जारी छ”, केन्द्रका प्रमुख सागर विष्टले भने 

यसैबीच हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ । 

वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ । देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा  हानी भएको छ । देवघाट गाउँपालिका–२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा रु ५० हजार बराबरको क्षति भएको छ ।  पहिराबाट बोडी बीउ क्षति हुँदा रु एक लाख क्षति भएको छ । बाढीले धानखेतमा क्षति हुँदा रु दुई लाख ४० हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।  

आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा रु ८६ लाख ७० हजार ५७० बराबरको क्षति भएको छ । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिराले धानमा क्षति हुँदा रु १५ लाख ९१ हजार ८०० बराबरको क्षति भएको छ । ऋषिङ गाउँपालिकास्थित पहिराले कोदोमा क्षति हुँदा रु ६० हजार र सुन्तलाबोट ढल्दा रु ९६ हजार बराबरको क्षति भएको छ ।