शीर्षकहरू

खण्डहर बन्दै रूपन्देहीका सरकारी भवन, स्थानीय कार्यालय भने निजी घरका भाडामा

खण्डहर बन्दै रूपन्देहीका सरकारी भवन, स्थानीय कार्यालय भने निजी घरका भाडामा

भैरहवा । सरकारी प्रयोजनका लागि बनाइएका रूपन्देहीका भवन खण्डहर बन्दै गएका छन् । सदरमुकाम भैरहवामा रहेका सरकारी कार्यालयका भवन खण्डहर बन्दै जाँदा अर्कोतर्फ स्थानीय तहका कतिपय कार्यालय भने भाडामा बस्न बध्य छन् । यसरी अर्बौँ लगानीमा बनेका भवन प्रयोगविहीन भई अर्कोतर्फ स्थानीय तहका कार्यालय भाडामा सञ्चालन भइराख्दा देशकै अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । संघीय सरकारले बनाएका ती भवन स्थानीय तहको मातहतमा आउन नसक्दा प्रयोगविहीन हुन पुगेका छन् ।

भैरहवाको भैलुभूज कार्यालयभित्र थुप्रै भवन प्रयोगविहिन अवस्थामा छन । प्रदेशका मन्त्रीहरुको निवास बनेको उक्त कार्यालय लुम्बिनी प्रदेशको कार्यालय दाङ सरेयता प्रयोगमा आएको छैन । नेपालको झण्डा लगाएर राखिएका भवन झाँडीले ढाकेको छ । 

त्यस्तै प्रयोगविहिन र झाँडीले ढाकेको अर्को कार्यालय हो नेशनल ट्रेडिङको भवन । जुन भैरहवाको बीच भागमा रहेको छ । करिब २४ कठ्ठा क्षेत्रफलमा रहेको कार्यालयको रेखदेख र संरक्षण गर्ने कोही नहुँदा अतिक्रमणको चपेटामा परेको छ । उक्त कार्यालयका भवनहरु जिर्ण अवस्थामा पुगेका छन् भने झाँडीले ढाकेको छ । फलाम र बिजुलीका तार काटेर कवाडीलाई बेच्ने कार्य भएको छ । बेवारिसे अवस्थामा रहेको कार्यालय भित्रको जग्गामा वस्तुभाउ चराउने थलो बनेको छ । उक्त भवन र जग्गाको रेखदेख गर्ने तीन तहको सरकारमा कोही छैन । 

स्थानीय डोलराज भण्डारी सरकारले आफ्नो सम्पत्तिको संरक्षण गर्न नसक्दा नगरपालिकाको बीचभागमा रहेको जग्गा र भवन प्रयोगविहिन हुनु दुखद् रहेको बताउँछन् । संरक्षण गर्ने निकाय नहुँदा भवनबाट सामानहरु हराउँदै गएको र जग्गा पशु चरणको क्षेत्र बनेको बताए । स्थानीय तहका जनप्रतिनिधि अभिषेक रावलले पालिकाअन्तर्गत लिएर त्यहाँ सुपरमार्केट, खेलकुद वा पार्किङ क्षेत्र बनाउन आफूले आवाज उठाइरहेको भए पनि कुनै निर्णय नभएको बताए ।

उता राज्यको अर्बौ लगानी भएको भैरहवा सेज पनि लथालिङ्ग छ । छरिएर रहेका उद्योगलाई एकीकृत गर्न स्थापना भएको सेजमा काम नहुँदा त्यहाँ बनेका संरचना पनि कवाड बनेका छन् । जनताले तिरेको करबाट बनेका संरचना प्रयोगविहिन र कवाड बन्दा राज्यलाई ठूलो लगानी डुबेको छ ।

सिद्धार्थनगर पालिकाको मेउडिहवामा बनेको क्वारेन्टान भवन पनि प्रयोगमा आएको छैन । उक्त भवन कुन तहको सरकारको स्वामित्वमा छ भन्नेसम्म थाहा छैन । करोडौं रुपैँया खर्च गरेर बनाइएको अढाइ तले भवन सुविधासम्पन्न छ । तर कोरोनाको समयमा बनेको उक्त भवन अहिले लथालिङ्ग अवस्थामा छ । कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्ने नहुँदा भवन झाँडीले ढाकेको छ । उक्त भवनमा केही महिनाअघि संघीय भवन कार्यान्वयन इकाइ कार्यालयले बाहिरबाट ताला लगाएर हिँडेको छ ।

कृषि क्वारेन्टाइनको नाममा सिद्धार्थनगर नगरपालिका वडा नं १ मेउडिहवामा बनाइएको भवन सुविधा सम्पन्न हुँदा पनि सञ्चालनमा नआउँदा यहाँ जडान गरिएका मेसिनरी समान बिग्रने अवस्थामा रहेको सिद्धार्थनगर नगरपालिका वडा नं १ का स्थानिय तथा पूर्व जनप्रतिनिधि दिपक थापाले बताए । कृषि सामग्री कम्पनीको भवन पनि जिर्ण अवस्थामा रहेको छ । भैरहवको मुख्य केन्द्र मानिने बर्मेलीटोलमा रहेको भवन कहिले कसो प्रयोगमा आए पनि संरक्षण समेत हुन सकेको छैन । बजारको मुख्य ठाउँमा हुँदा समेत संरक्षण गर्ने निकाय नभएको जस्तै छ । झ्याल ढोका टुटेफुटेका छन् ।

यी भवनहरु प्रयोगविहीन भइरहँदा सेवाग्राहीको भिड लाग्ने यातायात व्यवस्था सेवा कार्यालय भैरहवा भाडाको घरमा बस्न बाध्य छ । सडक छेउबाट सेवा दिनुपर्ने कार्यालय मुख्य सडकको करिब ५ सय मिटर भित्र साँघुरो भवनबाट सेवा दिइरहेको छ । जुन भवनबाट दिइने सेवाबाट सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ । सेवाग्राहीलाई राजस्व तिर्न जाँदा लामो लाइन बस्नुपर्दा घामपानीको ओत लाग्ने ठाउँ छैन । यातायात व्यवस्था सेवा कार्यालय रुपन्देहीका प्रमुख गोविन्द प्रसाद पाण्डेले सरकारी भवनको विकल्पनै नभएको कारण कार्यालय यहाँ राख्न बाध्य भएको बताए । उनले भाडाको घर व्यक्तिगत  प्रयोजनका निम्ति बनेको हुँदा कार्यालय जस्तो नदेखिने र यहाँ पार्कीङको समस्याले ग्रस्त पारेको बताउँछन् ।

सरकारी प्रयोजनका लागि निर्माण गरिएका संरचनाहरू सुचारु गर्न जिल्ला प्रसासन कार्यालयले अफ्नो तहबाट विभिन्न निकायसँग समन्वय गरिरहेको रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । भैरहवामा भाडामा रहेका कार्यालयले कार्यालय राख्न सकिने उपयुत्त स्थान यो हुन सक्छ भनेर जानकारी दिए प्रशासनले पहलकदमी लिने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।