शीर्षकहरू

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्ने तयारी

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्ने तयारी

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।
गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना हेडवक्र्समा ठूलो क्षति पुर्याएको थियो ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष कन्ट्रोल रुम भवन, बालुवा थिग्ग्रयाउने पोखरी डिस्याण्डर र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर कल्भर्टमा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान,ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुईवटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुङ्गालगायत थुप्रिएको अनुमान गरिएको छ ।

कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । कन्ट्रोल रुपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुङ्गासमेत खसिरहेको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका ९गेट०हरु खुल्ला गरिएको थियो  जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । बाँधबाट डिस्याण्डरबीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनीले दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञसमूहसहित मङ्गलबार आयोजनास्थल पुगी पहिरोले पुर्याएको क्षतिका जानकारी लिएको छ । टोलीले संरचनाहरुको मर्मत सम्भार गरी विद्युत्गृह सञ्चालन गर्ने विभिन्न विकल्पहरुबारे विज्ञसमूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयरहरु पनि सहभागी थिए ।

राज्यमन्त्री तामाङले माथिल्लो तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिट्टो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्याण्डर, कल्भर्टलगायतका संरचनामा ठूलो क्षति पुर्याएको देखिएको बताए ।

अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचनाहरुरहेको स्थानभन्दा माथि ठूल्ठूला ढुङ्गाहरु देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्वेमार्फत समग्र रुपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए । ‘डिस्याण्डरमा थुप्रिएको ढुङ्गा, लेदोलगायतका हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुङ्गा, लेदोलगायतलाई हटाउन लागेका छौ,’ उनले भने । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ मोहन प्रसाद गौतमले विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न विभिन्न सुझावहरु प्राप्त भएको र उक्त सुझावहरुलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाका साथ काम सुरु गरिसकिएको बताए । ‘बाँधमा रहेका गेटलाई चलाउन र डिसेन्डरलाई सफा गर्न गोङ्गरबाट लगिएको ११ केभि विद्युत लाइन मर्मतसम्भार गरी चालू गर्ने र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडानको प्रक्रिया सुरु भइसकेको छ’, सिइओ गौतमले भने ।