शीर्षकहरू

छोराछोरी विदेशमा भएका अभिभावकमा एक्लोपनको समस्या बढ्दै

छोराछोरी विदेशमा भएका अभिभावकमा एक्लोपनको समस्या बढ्दै

काठमाडौँ । विदेशमा छोराछोरी भएका अभिभावकमध्ये २१.७% मा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपन भएको पाइएको छ । ६२.३% मा मध्यम खालको एक्लोपन देखियो । काठमाडौँ महानगरपालिकाले विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुमा गरेको सर्वेक्षणमा १५% मा कुनै पनि खालको भावनात्मक एक्लोपन नदेखिएको निष्कर्ष निकालेको छ । 

यस्तै सामाजिक एक्लोपनका कोणबाट ४८% उच्च एक्लोपन, २८.३% मा मध्यम र २३.७% मा शून्य देखियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरुले हीनता बोध गरेको पाइएको  छ । फलस्वरुप उनीहरूमा एक्लोपन र निराशा देखिएको अध्ययनमा उल्लेख छ । 

महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप — एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले अध्ययन गरेका थिए । 

महानगरपालिकाले छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य (एक्लोपन र डिप्रेसन) को अवस्था थाहा पाउन अध्ययन गरेको थियो । सर्वेक्षणमा महानगरपालिका भित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका, सबै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ६१ जनाले सोधिएका सबै प्रश्नहरुको जवाफ दिन चाहेनन् । १३५ जनालाई उपनाम राखेर सहभागी गराइएको थियो । ५२ जनासँग कुराकानी गरिएको थियो ।  

सहभागीको औसत उमेर ६९ वर्ष थियो । ३१९ जना विवाहित थिए । २ जना सम्बन्ध विच्छेद भएका र २ जना अविवाहित थिए । १२५ जना एकल ज्येष्ठ नागरिक सहभागी थिए । उनीहरुमध्येका २३७ जना (५२.९%) ले आफू साक्षर भएको बताएका थिए । ६६ जना (१४.७%) ले एसएलसी सम्मको अध्ययन गरेको, ३७ जना (८.२%) ले हाइस्कुल डिग्री हासिल गरेको, ७२ जना (१६.१%) ले स्नातक वा उच्च शिक्षा हासिल गरेको र ३४ जना (७.६%) ले निरक्षर रहेको बताएका थिए । सहभागीमध्ये ८९.३% मध्यम वर्ग, ४% गरिब र ६.७% धनी परिवारका थिए । अध्ययनमा २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफलाई तथ्याङ्क मानेर १८ जना विषय विज्ञबाट विश्लेषण भएको हो । 
आधा भन्दा बढी ५९.८% ज्येष्ठ वयस्कहरुले पेन्सन वा ज्येष्ठ नागरिक भत्ता पाइरहेका छन् । ३५.७% ले आफ्नो केही पनि आय नभएको बताएका थिए । १३.६ % ले आफूसँग पर्याप्त आम्दानी नभएको बताएका थिए भने ७५% ले राम्रो आम्दानी र ११.४% पर्याप्त आम्दानी भएको बताएका थिए । 

अध्ययनमा सहभागी भएकामध्ये ४४.०९% का एकजना बच्चा विदेश गएका थिए । ३५.३% का २ जना, ९.६ जनाका ३ जना १.१% का ४ वा त्यसभन्दा धेरै छोराछोरी विदेश थिए । अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुबई र जापान जस्ता विकसित देशहरूमा थिए । 

उनीहरूसँग ३४.६% का छोराछोरीले दैनिक कुराकानी गर्छन् । ३०.८% ले हप्तामा दुई वा तीन पटक, १९.६% ले हप्तामा एक पटक र  ३.८% ले महिनामा एक पटक कुराकानी गर्ने गरेका छन् । १.६% ले कुराकानी नै गर्दैनन् । 

आधा भन्दा बढी ५१.६% ले विदेशी राष्ट्रहरू भ्रमण गर्नुभएको छ । ५२.७% ले आफ्ना छोराछोरी फर्केर स्वदेश आउँछन् भन्ने कुरामा विश्वास गरेका छैनन् । ९४ प्रतिशतले आफूलाई सहयोग गर्ने सहयोगी राखेका छैनन् । ३९.३ प्रतिशतलाई छिमेकीहरूले साप्ताहिक रुपमा भेट्ने गरेका छन् ।