शीर्षकहरू

फरवार्ड माईक्रोफाइनान्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

फरवार्ड माईक्रोफाइनान्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । असोज १५ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले कुल १४ प्रतिशत लाभांश यो वर्ष वितरण गर्न लागेको हो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वर्ष भने २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । 

कम्पनीले आर्थिक वर्ष ०७३/७४ देखि लाभांश वितरण गर्दै आएको छ । हालसम्म अधिकतम ६५ प्रतिशतसम्म लाभांश वितरण गरेको रेकर्ड रहकोमा कम्पनीले यस वर्ष सबैभन्दा कम लाभांश वितरण गर्न लागेको हो । लाभांश वितरणको पहिलो वर्ष ०७३/७४ को मुनाफाबाट कम्पनीले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ प्रतिशत नगद लाभांश गरी हालसम्मकै उच्च ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष ०७४/७५ को लागि कुल ४५ आर्थिक वर्ष ०७५/७६ को लागि पनि कुल ४५ प्रतिशत, आर्थिक वर्ष ०७६/७७ को लागि कुल ३१ दशमलव ५८ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ को लागि ४२ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । यस वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण योग्य हुनेछ ।