शीर्षकहरू

अपि पावरको साधारण सभा स्थगित, यस्तो छ कारण

अपि पावरको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा र बुक क्लोजको हुने मिति हाललाई स्थगित गरेको छ । कम्पनीले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको थियो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो । 

साधारण सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक कलोज गर्न लागेको कम्पनीले हाललाई बुक क्लोजको मिति समेत स्थगित गरेको हो । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गरेको हो । नियमन आयोगका अनुसार कम्पनीले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन माग अनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको साथै बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गरेको देखिन्छ । 

जुन कार्य कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको भन्दै स्वीकृति दिन नमिल्ने भनाई आयोगको छ । आयोगको निर्णय माथी कम्पनीले पुनरावलोकनका लागि असोज १० गते निवेदन पेश गरेको छ । 

उक्त निवेदन उपर आयोगले १५ दिनभित्र साविकको निर्णय कायम राख्ने वा संशोधन गने सक्ने प्रावधान रहेकाले कम्पनीले हाललाई आयोगको निर्णय कुर्ने भएको हो । आयोगबाट पुनरावलोकन भई निर्णय जारी पश्चात् अर्को सूचना जारी गरी कम्पनीको स्थगित वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गर्ने जानकारी कम्पनीले सूचना जारी गर्दै दिएको हो ।