शीर्षकहरू

बाढी पहिरोले १७ अर्ब भन्दा बढी क्षति, २२४ जनाको मृत्यु

बाढी पहिरोले १७ अर्ब भन्दा बढी क्षति, २२४ जनाको मृत्यु

काठमाडौं  । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट देशभर १७ अर्ब भन्दा बढीको क्षति भएको छ भने २२४ को मृत्यु भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले बाढीको प्रारम्भिक क्षतिबारे  जानकारी दिए ।

 हालसम्म प्राप्त विवरण अनुसार २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएका छन् । उच्च जोखिममा रहेका ४३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको छ। बाढी पहिरोबाट २१ जिल्लाहरू प्रभावित भएका छन्। जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् ।

भौतिक क्षतिको प्रारम्भिक आंकलन अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्थ र सिचाइ पूर्वाधारतर्फ १ अर्बको क्षति भएको अनुमान छ ।

यसैगरी ३७ वटा राजमार्ग अवरूद्ध भएकोमा ९ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको छ।  सञ्चालनमा रहेका मध्ये कुल ६६७.९३ मे वा जडित विद्युत् क्षमताको १६ वटा जलविद्युत आयोजनाहरू, कुल ११३९।१९ मे।वा। जडित विद्युत क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरू र ५ वटा प्रमुख प्रसारण टावरहरूमा क्षति भएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३१२ साइटमा क्षति भएको छ। कृषि तथा पशुपन्छी तर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको छ। खोज तथा उद्धार कार्यमा ३० हजार ७ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र तत्काल उद्धारका लागि हेलिकोप्टर समेत प्रयोग भएको छ।