शीर्षकहरू

चार मुलुकमा शाखा कार्यालय खोल्दै हिमालयन रि इन्स्योरेन्स, वार्षिक ५०० करोड बीमा शुल्क भित्र्याउने कम्पनीको दाबी

चार मुलुकमा शाखा कार्यालय खोल्दै हिमालयन रि इन्स्योरेन्स, वार्षिक ५०० करोड बीमा शुल्क भित्र्याउने कम्पनीको दाबी

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नेपाल बाहिर भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीको गत फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार मुलुक बाहिर पनि शाखा विस्तार गर्ने निर्णय गरेको हो । प्रारम्भिक चरणमा चार वटा मुलुकमा कम्पनीले शाखा विस्तार गर्न लागेको हो । 

शाखा कार्यालय सञ्चालनका लागि कम्पनीले गत वैशाख ३० गते प्राधिकरणबाट सैद्धान्तिक सहमति पाइसकेको छ । सम्बन्धित मुलुकका नियामक निकायबाट पनि स्वीकृति पाएको कम्पनीले जनाएको छ । 

कम्पनीले शाखा कार्यालय खोल्नका लागि सम्बन्धित नियामक निकायले तोके बमोजिमको असाइन क्यापिटल सम्बन्धित देशमा लैजान, सो मुलुकहरूमा विदेशी मुद्रामा बैंक खाता खोल्न तथा विदेशी मुद्रामा कारोबार आम्दानी तथा खर्च गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र समक्ष निवेदन दिएको थियो । तर, केन्द्रीय बैंकले अनुमति नदिएपछि कम्पनीले प्राधिकरणलाई गुहारेको छ । 

केन्द्रीय बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३(२) बमोजिम नेपाल सरकारको स्वीकृती सहितको नेपाल राजपत्रमा प्रकाशित सूचना पेश गर्न निर्देशन दिएको कम्पनीले जनाएको छ । तर, हाललाई असाइन क्यापिटल नेपालमा नै एयरमार्क गरी राख्न मिल्ने व्यवस्था भएपछि कम्पनीले अनुमतिको लागि फेरी प्राधिकरणलाई आग्रह गरेको हो । 

हिमालयन रिले रेटिङ्ग एजेन्सी एएम वेस्टबाट बिप्लस रेटिङ्ग प्राप्त गरेको छ । कम्पनीले स्थापनाको चौथो वर्षमा नै भारतको नियामकीय निकाय आइआरडिएआइबाट भारतको पुनर्वीमा व्यवसाय लेख्न आवश्यक एफआरएन प्राप्त गरेको छ । त्यस्तै, भारत सरकारको पूर्ण स्वामित्व रहेको पुनर्वीमा कम्पनी जिआईसी रि को पुनर्वीमा व्यवसाय हासिल गर्न सफल भएको कम्पनीले दाबी गरेको छ । 

विदेश शाखा कार्यालय सञ्चालन गर्न सके कम्तीमा ५०० करोड पुनर्वीमा शुल्क नेपाल भित्र्याउन सकिने कम्पनीको दाबी छ ।