शीर्षकहरू

दाबी भुक्तानी लागि कार्यविधि बनाउन बीमकलाई प्राधिकरणको निर्देशन, एक हजार वटा दाबी परेको अनुमान

दाबी भुक्तानी लागि कार्यविधि बनाउन बीमकलाई प्राधिकरणको निर्देशन, एक हजार वटा दाबी परेको अनुमान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी पहिरोका कारण बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी गर्न संक्षिप्त कार्यविधि बनाई लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई सहज र छिटो भुक्तानीको लागि कार्यविधि बनाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता शुसिल देव सुवेदीले बताए ।

त्यस्तै, बीमकले आवश्यकता अनुसार दाबीको आंशिक रुपमा अग्रीम दाबी भुक्तानी गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले कम्पनीहरूलाई आवश्यकता अनुसार सर्भेयरको परिचालन गर्न भनेको छ । प्रकोपको समयमा प्राधिकरणबाट इजाजत प्राप्त तर, बीमकले सर्भेयरको सूचीमा आबद्ध नभएका सर्भेयरलाई समेत खटाउन सकिने व्यवस्था गरिदिएको छ । दाबी प्रयोजनका लागि बीमकले आवश्यकता अनुसार सर्भेयरको परिचालन गर्न सक्नेछन् । अर्थात् यति बेला बीमकलाई सर्भेयर संख्याको सीमा लागू हुने छैन । 

साथै प्राधिकरणले कम्पनीहरूलाई सर्भेयरलाई क्षतिको यकिन गरी तोकिएको अवधिभित्र नै प्रतिवेदन पेश गर्न लगाउन समेत निर्देशन दिएको छ । दाबी भुक्तानी सम्बन्धमा पुनर्बीमकहरुलाई पत्राचार गर्न र जल तथा मौसम विज्ञान विभागको प्रतिवेदन क्षति मूल्याङकनलाई आधारको रुपमा लिन समेत निर्देशन दिएको छ । 

प्राधिकरणले कम्पनीहरूले प्रत्येक साताको बुधबार दाबी तथा भुक्तानीको तथ्यांक उपलब्ध गराउन समेत निर्देशन दिएको छ । 

बीमा कम्पनीहरूमा एक हजार भन्दा बढी दाबी परेको अनुमान

बाढी पहिरोका कारण बीमा कम्पनीहरूमा एक हजार भन्दा बढी दाबी परेको हुन सक्ने अनुमान गरिएको छ । गत आइतबार निर्जीवन बीमा कम्पनी र प्राधिकरण बीच भएको छलफलमा करिब ४०० वटा दाबी परेको कम्पनीहरूले जानकारी दिएको प्राधिकरणका प्रवक्ता शुसिल देव सुवेदीले बताए । ‘तर यो संख्या त प्रत्येक मिनेटमा बढी रहेको छ । त्यसैले यकिन तथ्यांक भने अहिले भन्न नसकिने उनले बताए,’ उनले भने । 

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले भने कम्पनीमा हालसम्म १०० वटा दाबी परेको बताए । 

सानिमा जिआईसीमा परेको दाबीलाई आधार मान्ने हो भने अधिकतम एक हजार ४०० दाबी परेको मान्न सकिने प्राधिकरणले जनाएको छ । न्यूनतमलाई हेर्ने हो भने पनि थोरैमा एक हजार वटा दाबी परेको हुन सक्ने प्राधिकरणको अनुमान छ । 

यस पटकको बाढी पहिरोले बीमा कम्पनीहरूमा धेरै दाबी परेको हुन सक्ने प्राधिकरणको अनुमान छ । यस अघिका वर्षहरूमा आउने बाढी काठमाडौंमा भन्दा बाहिर हुन्थे । त्यतिबेला क्षति भएका सम्पतिहरुको बीमा नै गरिएको हुँदैनथ्यो । त्यसैले कम्पनीहरूमा धेरै दाबी परेन । तर, यस पटक भने बाढीले सबैभन्दा धेरै क्षति काठमाडौं भ्यालीमा गरेको छ । बीमा कम्पनीहरू काठमाडौं भित्रै केन्द्रित छन् । त्यसैले क्षति भएकामध्ये धेरै सम्पतिको बीमा गरिएको हुन सक्ने प्राधिकरणका एक कर्मचारीले बताए  । 

कम्पनीहरूका अनुसार यो पटक गोदाम भएको क्षतिको बढी दाबी आउनेछ । व्यवसायीहरूले चाडवार्ड लक्षित गरी धेरै समान गोदाममा राखी सकेका थिए । अधिकतम व्यवसायीका गोदामहरू खोला किनारमा छन् । बाढीले तिनै क्षेत्रमा क्षति गरेको छ । त्यसैले गोदामका समान धेरै दाबी आउन सक्ने सानिमा जिआईसीका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको अनुमान छ । गोदाम बाहेक कम्पनीहरूमा जलविद्युत, मोटर, र सम्पति बीमा पनि दाबी पर्ने अनुमान गरिएको छ । 

गत असोज १० गते देखि १२ गतेसम्म गएको बाढी पहिरोले देशभर जनधनको क्षति भएको छ । बाढी पहिरोले जलविद्युत क्षेत्रमा तीन अर्ब भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै, पुल र सडकमा साढे २ अर्ब क्षति भएको अनुमान गरिएको छ । त्यस्तै, २१७ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।