शीर्षकहरू

सरकारलाई यातायात व्यवसायीको प्रश्न– सडकको अवस्था किन यस्तो ?

सरकारलाई यातायात व्यवसायीको प्रश्न– सडकको अवस्था किन यस्तो ?

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मौसम विभागले प्राकृतिक प्रकोपको चेतावनी पहिले नै दिँदा पनि सचेत हुन नसक्दा ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार महिनादेखि असोजको १५ गतेसम्म अनुमानित १९ लाख जनता प्रभावित हुन्छन् भन्ने मौसम विभागको पूर्वानुमान भएपनि सरकारले पूर्वतयारी र सतर्कता अपनाउन नसकेको बताए । 

‘यो प्रकोप मौसम विभागले पहिलादेखि नै चेतावनी दिएको थियो । असार महिनादेखि असोजको १५ गतेसम्म अनुमानित १९ लाख जनता प्रभावित हुन्छन् भन्ने चेतावनी थियो,’ सिटौलालले भने । 

अविरल वर्षापछि  अवरुद्ध सडक खुलाउनका लागि राज्यको संयन्त्रसँग आफुहरु पनि दिनरात नभनी खटिइरहेको उनले बताए । राजनीतिक अस्थितरताका कारण यस्ता प्रकारका विपत्तिमा उद्धार, पुनर्स्थापना र राहतको काम हुन नसकेको उनको भनाइ छ । 

‘राज्य पनि खटेको छ । हामी पनि अहिले २४ घण्टै खटेका छौं । नेपालभरको सडकको अवस्थामा तपाईँ हामी जानकार छौं । यो देशको सडकको अवस्था यस्तो किन भयो ? वास्तवमा भन्ने हो भने राजनीतिक अस्थितरताको कारणले गर्दा पनि काम भएको छैन,’ उनले भने ।  


राज्यले रात्री बस नचलाउनका लागि गरेको आग्रहपछि त्यो दिन काठमाडौं उपत्यकाबाट एउटा पनि रात्री बस नछुटेको उनको दाबी छ । वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार पहिरोमा परेर झ्याप्ले खोलामा पुरिएको बस रात्री बस थिएन । ती बसहरु दिनमै छुटे पनि विभिन्न ठाउँमा अवरुद्ध भएको कारण रातिको समयमा त्यहाँ आइपुगेको उनले बताए । 

‘झ्याप्ले खोलाको रात्री सेवाको गाडी होईन । त्यो बुटवलबाट आएको माइक्रोबस दिवामा आएको हो । नारायणघाटबाट दिवामा आएको गाडी हो । पोखराबाट आएको पर्यटकीय गाडी दिवामा आएको हो । रात्री सेवामा हामीले गाडी ल्याएका छैनौं,’ उनले भने । 

बिपी राजमार्गको मंगलटारमा अहिले पाँच सय वटा माइक्रोश, टाटासुमो र जिपहरु अलपत्र अवस्थामा रहेको उनले बताए । त्यहाँका मान्छेहरु कतिपय हिँडेर पनि आइरहेको बताउँदै उनले त्यहाँ अहिले ६ सय जना मजदुर अलपत्र अवस्थामा रहेको बताए । 

साथै, तत्काल बिपी राजमार्ग पूर्ण रुपमा सुचारु गर्न सकिने अवस्थामा आफूहरुले नपाएको बताए । ‘बिपी राजमार्ग तत्काल सञ्चालन हुने वातावरण हामीले बुझेका छैनौं । छ सय मजदुरलाई रेस्क्यू गर्न मैले विशेष अनुरोध गरेँ,’ उनले भने । 

त्यस्तै, रोशी खोलाले ७० वटा टिपर बगाएको उनले बताए । उनका अनुसार देशभरी कति वटा गाडीहरु बाढीले बगायो भनेर तथ्याङ्क आइसकेको छैन । अहिले भाडा बढाउनका लागि अग्रिम टिकट बुकिङ ढिला खोलिएको भन्ने आरोप आफूहरुमाथि रहेको बताउँदै उनले यसमा कुनै गलत नियत नरहेको बताए  ।