शीर्षकहरू

सडक विभागका डिजी भन्छन्– सडकमा दुई अर्ब ५२ करोडकाे क्षति, बिपी राजमार्ग सञ्चालनमा चुनाैती

सडक विभागका डिजी भन्छन्– सडकमा दुई अर्ब ५२ करोडकाे क्षति, बिपी राजमार्ग सञ्चालनमा चुनाैती

काठमाडौं । सडक विभागका महानिर्देशक ई. रामहरि पोखरेलले बाढी÷पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइहेको बताएका छन् । पछिल्लो विपद्बाट सबैभन्दा बढी सडकमा क्षति भएको उनले बताएका हुन् ।  

उनले भने, ‘यो महामारीमा सबभन्दा बढि पीडित भनेको सडक नै परेको छ । हामी सडक सुचारुको लागि अहोरात्र खटिएका छौं । यति हुँदापनि जनताले चाहेको जस्तो हुन सकेको छैन् । हामीपनि पूर्ण सन्तुष्ट छैनौं । तर, हाम्रो इफोर्ट चाहीँ लागिरहेका छौं ।’

महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको सुनाए । तर, सबै राजमार्ग सुचारु गर्नको लागि राज्य–संयन्त्र लगाएर काम भइरहेको उनको भनाई छ । उनले भने, ‘असोज ११ र १२ गतेको अवस्था के थियो भने २३ वटा राजमार्गको ६९ वटाभन्दा बढि ठाउँमा राजमार्ग अवरुद्ध भएको अवस्था थियो । अहिले पछिल्लो स्थिति हेर्दा १२ वटा राजमार्गको ३४ स्थानमा अझैपनि अवरुद्ध छ । त्यसमा पनि मुख्य–मुख्य राजमार्गको कुरा गर्नु पर्दाखेरि यो नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड, कान्ति, विपी राजमार्ग र पुष्पलाल राजमार्ग रहेका छन् ।’

महानिर्देशक पोखरेलले आफूहरुले सबै संयन्त्र लगाएर नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड एकतर्फी सुचारू गराएको सुनाए । तर, एकतर्फी  खोल्दा त्यहाँ अड्किएका सवारीसाधनलाई काठमाडौं भित्र्याईएको उनले जनाए । अत्यावश्यक वस्तु (खाद्यान्नसहित) सवारीलाई प्रोटोकल मिचेर पनि आफूहरुले सुरूङमार्गमार्फत ल्याएको पोखरेलको भनाई छ । त्यसको लागि आफूहरुले जापानीहरुलाई अनुरोध गरिएको उनले स्पष्ट पारे । आजै नै सो मार्ग दुईतर्फी सञ्चालनमा ल्याउनेगरि काम भइरहेको उनको भनाई छ । 

उनले बिपी राजमार्गको अवरोध सुचारुको लागि चूनौती रहेको सुनाए । उनले भने, ‘बिपी राजमार्गको चौकी डाँडा भन्ने ठाउँ (धुलिखेलबाट झण्डै ३४ किलोमिटरजति पर्छ)  त्यहाँ साढे दुई किलोमिटर बाटो बगाएको छ । त्यसको अवरोध हटाउनको लागि हामीले सबै शक्ति लगाएका छौं । सकेसम्म हामी विपी राजमार्ग खोल्न प्रयास गरेका छौं ।’

त्यस क्षेत्रमा दुई वटा पुल बगाएकाे बताउँदै उनले अगाडी भने,  ‘एउटा खैरेनीघाट र अर्को खुर्कोटको पुल बगाएको छ । रामेछापसँग लिंक हुने अर्को पुल बाँकी छ । त्यो हो सित्खा भन्ने ठाउँको । सित्खाको पुल तरेर गाल्बा हुँदै मन्थलीबाट गाडीहरु पास भएका छन् । तर, त्यहाँ किरिनेटारमा पनि दुई सय मिटर वास भएछ, खिम्ती हाईड्रोपावर प्रोजेक्टलाई विशेष अनुरोध गरेका छौं । त्यहाँको घर भत्काउनुपरेपनि बरु हामी क्षतिपूर्ति दिन्छौं तर गाडी पास गरौं भनेका छौं ।’

उनले कान्ति राजमार्गको अवरोध अब क्लियर हुँदै गएको बताए । बाग्मती पुलमा पनि बेलीब्रिज हाल्नुपर्ने अवस्था रहेको बताए । मेची राजमार्गको बेलिब्रिज बगाएकोले अहिले डाईभर्सन प्रयोग गरेको सुनाउँदै त्यो दशैंअघि नै सुचारु हुने बताए । यस्तै, अरनीको राजमार्ग बाह्रविसे, दोलालघाट र धुलिखेल खण्ड क्लियर भएको उनको भनाई छ । दशैंअघि तातोपानी नाका चलाउन नसकिने उनले स्पष्ट पारे । 

उनले अहिलेसम्म प्रारम्भिक क्षतिको विवरण हेर्दा दुई अर्ब ५२ करोड क्षति भएको तथ्यांक पेश गरे । तर, विस्तृत विवरण आईपुग्दासम्म यो क्षतिको अंक बढ्नसक्ने उनको भनाई छ । देशव्यापी रुपमा क्षति भएका राजमार्गको स्थायी निर्माणको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिने र स्थायी रुपमा काम अघि बढाउने पोखरेलको भनाई छ । महामारीको अवस्थामा सडक विभागले सम्पूर्ण शक्ति लगाएर काम गरेकोले मिडियाले पनि प्रशंसा नै गरेको उनले सुनाए ।