शीर्षकहरू

रूरू जलविद्युत परियोजनाले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने

रूरू जलविद्युत परियोजनाले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

१५ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा कम्पनीले ८० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ८० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ । यी उल्लेखित प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ११ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । 

असोज १२ गतेकै सञ्चालक समितिको बैठकले लिसरा रिसेम्सन्स, नक्साल, काठमाडौ.मा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूाजीलाई आवश्यकता अनुसार बृद्धि गर्नुपर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले कम्पनीले कात्तिक ३० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।