शीर्षकहरू

अर्थमन्त्रालय र प्राधिकरणसँग सहकार्य गरी बीमा दाबी चाँडो भुक्तानी गराउँछौ : उर्जा मन्त्री

अर्थमन्त्रालय र प्राधिकरणसँग सहकार्य गरी बीमा दाबी चाँडो भुक्तानी गराउँछौ : उर्जा मन्त्री

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी पहिरोले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको बीमा दाबी रकम सहज र छिटो भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा क्षतिग्रस्त भएका आयोजनाहरुबाट विवरण प्रस्तुत गर्दै मन्त्री खड्काले दाबी रकम भुक्तानीको लागि सहकार्य गर्न कम्पनीहरूलाई आग्रह गरेका हुन् । 

बीमा कम्पनीहरुले लिन धेरै खोज्ने तर, भुक्तानी भने गर्न नखोज्ने प्रवृत्तिले व्यवसायीहरू मर्कामा परेको बताए । त्यसैले यस पटकको दाबी रकम भुक्तानीको लागि अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गरी चाँडो भन्दा चाँडो भुक्तानी गर्न तर्फ लाग्ने बताएका छन् । 

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बीमा कम्पनीहरूले समयमा नै दाबी रकम भुक्तानी नगरिदिदा आयोजना पुन निर्माणको कार्य ढिलो हुने गरेको गुनासो गरे । ‘गत वर्ष देखि नै दाबी रकम कम्पनीहरूले भुक्तानी गरेका छैनन् । यो पटक भुक्तानी कहिले हुने हो ?,’ उनले भने । 

उता नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाढी पहिरोबाट भएको क्षतिको दाबी सहज रुपमा भुक्तानी गर्न कम्पनीहरूलाई निर्देशन दिएका छन् । बाढी पहिरोबाट कम्पनीहरूमा पर्न सक्ने क्षतिको विषयमा प्राधिकरणमा भएको छलफलमा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् । 

प्राधिकरणले क्षतिको दाबी संख्या, दाबी रकम, सर्भेको अवस्था लगायतका विषयमा प्रत्येक दिनको तथ्यांक उपलब्ध गराउन कम्पनीहरूलाई निर्देशन दिएको छ । 

असोज १० गते देखि परेको अविरल वर्षाको कारण १९२ जनाको मृत्यु भएको छ भने ३०  बेपत्ता भएका छन् । बाढी पहिरोले क्षति पुगेको स्थानबाट तथ्यांक आउने क्रम रहेकोले यो तथ्यांक बढ्ने सक्ने अनुमान गरिएको छ । त्यस्तै, बाढी देशभरका २६ वटा जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ । 

विद्युत उत्पादन भै रहेको ११  जलविद्युत आयोजना र  निर्माणाधीन १५ परियोजनामा क्षति पुगेको छ । क्षतिबाट साढे दुई अर्ब रुपैयाँ नोक्सानी भएको मन्त्रालयले जनाएको छ ।