शीर्षकहरू

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्यांकअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ । 

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाडौं विमानस्थलको वर्षामापन केन्द्रले २३९.७ मिलिमिटर वर्षा भएको जनाएको छ । बूढानीलकण्ठमा १७८.३तीन मिलिमिटर, जितपुरफेदीमा १७८.३ मिलिमिटर, नागार्जुनमा २०५.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । 

ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले १९४.५ मिलिमिटर वर्षा भएको मापन गरेको छ । 

ललितपुरको गोदावरीमा ३११.६, खुमलटारमा २९४.४ मिलिमिटर, टिकाथलीमा २६४ मिलिमिटर वर्षा भएको छ । खोकनामा २९७.३ मिलिमिटर र चापागाउँमा ३२३.५ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । 

औसतमा २४ घण्टामा कति मात्रामा पानी पर्यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् । 

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा ४१० मिलिमिटर मापन गरिएको छ । काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा ३३१.६ मिलिमिटर वर्षा मापन गरिएको छ । 

विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ । 

विभागका अनुसार पछिल्ला सात वर्षको विवरण हेर्ने हो मनसुनको सुरुवाती चरण र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने वर्षा हुन थालेको छ । -रासस