शीर्षकहरू

बीमा दाबी भुक्तानी छिटो दिन प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

बीमा दाबी भुक्तानी छिटो दिन प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । उनले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको दाबी भुक्तानी दिन निर्देशन दिएका हुन् । 

बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आज नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए ।  

अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने जानकारी दिए । 

अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए ।