शीर्षकहरू

बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु, हालसम्मको विवरणसहित

बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु, हालसम्मको विवरणसहित

काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले दिएको तथ्यांक अनुसार, ६९ जना घाइते भएका छन् भने ६० जना वेपत्ता भएका छन् । उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।

नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ । ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

तीनदिनदेखि परेको अविरल वर्षाले काठमाडौं जिल्लामा मात्र ११ सय वटा घर ढुवानमा परेको काठमाडौं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्यले बताएका छन् । उनलका अनुसार हालसम्म काठमाडौंमा मात्र १० जनाको बाढीमा परि मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । 

त्यस्तै, हालसम्म ११ सय जनाको उद्दार गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । ८४  जनवारलाई पनि सुरक्षित स्थानमा पुर्याइएको छ । त्यस्तै, नागारजुंङ नगरपालिकाको इचंगुनारायणमा पहिरोमा परि केहि घर र मानिस पुरिएको खबर आएको उनले बताए ।