शीर्षकहरू

उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द, तत्काल सुचारु गर्न गृहमन्त्रीको निर्देशन

उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द, तत्काल सुचारु गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी दिलबहादुर तामाङका अनुसार गृहमन्त्री रमेश लेखकले आज सुरक्षा निकायका सबैलाई फोन गरेर उपत्यका जोड्ने सबै नाका तत्काल सुचारु गर्न निर्देशन दिएको बताए । 

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् ।

बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग, कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

उता, अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ । देशैभरीको बाढी पहिरोका अबस्था सार्वजनिक गर्न साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै गरेको गृहमन्त्रालयले जनाएको छ ।