शीर्षकहरू

भदौदेखि ओरालो लागेको बजार ५१४ अंकले घट्यो

भदौदेखि ओरालो लागेको बजार ५१४ अंकले घट्यो

काठमाडौं । यो साता नेप्से परिसूचक ९४ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार सामान्य अंकले बढेको परिसूचक सोमबार र मंगलबार भने उच्च अंकले घट्यो । बुधबार हरियो भएको बजार बिहीवार भने घटेर बजार बन्द भयो । 

गत साताको अन्तिम दिन २५७६.७६ विन्दुमा समेटिएको बजारमा यो सातको अन्तिम दिन घटेर २४८६.७६ विन्दुमा समेटिएको छ । नेप्से परिसूचकसँगै यो साता कारोबार रकम पनि घटेको छ । 

गत असार १६ काँग्रेस र एमाले गठबन्धन सरकारको लागि सहमति भएको समाचार आएसँगै नेप्से परिसूचक बढन थालेको हो । गत असार १७ गते २०५३ विन्दुमा रहेको नेप्से परिसूचक गत साउन ३१ गतेसम्म ९४७ अंकले बढेर परिसूचक ३००० विन्दुमा पुगेको थियो । यो अवधिमा कारोबार रकम ३ अर्ब रुपैयाँबाट बढेर २९ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो । 

तर, गत भदौ दुई गते देखि भने बजार निरन्तर रुपमा घट्ने क्रममा छ । असोज १० गतेसम्म बजार परिसूचक ५१४ अंकले घटेर २४८६ विन्दुमा समेटिएको छ । कारोबार रकम पनि घटेर ४ अर्ब ८४ करोडमा समेटिएको छ । 

बजार निरन्तर रुपमा घट्न थालेपछि अर्थमन्त्री स्वयं नेप्से कार्यालय पुगेर बजार घट्नुको कारण सोधेका थिए । अर्थतन्त्रको समग्र परिसूचक सकारात्मक हुँदा हुँदै पनि बजार किन घट्यो भनेर उनले नेप्सेका कर्मचारीलाई प्रश्न गरेका थिए । अर्थमन्त्रीले बजारका विषयमा चासो लिएसँगै बजार बढ्ने अनुमान गरिएको थियो । तर, बजारले भने सकारात्मक गति लिन सकेन । बजार भने निरन्तर रुपमा घटी रहेको छ । 

त्यस्तै, बजारमा हल्ला फिँजाएर प्रभावित पार्न खोजिएको देखेपछि नेप्सेले सामाजिक सञ्जालमा दिइने विश्लेषणको आधारमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा विश्लेषक भनेर आउने व्यक्तिहरूले दिने जानकारीको आधारमा मात्रै लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको हो । 

यसरी लगानी गरिँदा जोखिममा पर्न सकिने भएकोले यथार्थ बुझेर मात्रै लगानी गर्न नेप्सेले लगानीकर्तालाई सुझाएको हो । त्यस्तै, नेप्सेले नेपालमा हालसम्म कसैलाई पनि आधिकारिक विश्लेषकको रूपमा तोक्ने नगरिएको समेत स्पष्ट पारेको थियो । 

तर, ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले भने लगानीकर्ताको मनोबल खस्किए पछि बजार घट्न थालेको बताए । ‘बजार घट्नु पर्ने कुनै कारण नै छैन । बैंकिङ्ग प्रणालीमा हुने तरलता र ब्याजदरले बजारलाई बढी प्रभाव पार्छ । तर यो दुवै अवस्था अहिले सकारात्मक छन् । अर्थतन्त्रका अन्य सूचक सुस्ताउँदा शेयर बजारमा नै लगानी बढ्ने हो । अहिले अवस्थामा पनि त्यस्तै छ,’ उनले भने । 

नेपालमा अझै पनि लगानीकर्ता परिपक्क भै सकेका छैनन् । बजारमा आउने हल्लाले छिटो प्रभावित हुन्छन् । बजार उचाइमा पुगेको बेला बजारमा आएका अनावश्यक हल्लाले लगानीकर्ताको मनोबल गिराएको उनले बताए । नियमनकारी निकायले त्यस्ता हल्लालाई समयमा नै नियन्त्रण गर्न सकेन । त्यसैले लगानीकर्ता यतिबेला पर्ख र हेरको अवस्थामा रहेको उनको दाबी छ । 

त्यस्तै, नेपालको बजारमा कर्जा लिएर लगानी गर्ने लगानीकर्ताको संख्या अधिक भएको उनले बताए । ‘बजारमा लगानीकर्ता र कारोबारीको चाहिन्छ । तर, नेपालको बजारमा लगानीकर्ता भन्दा पनि कारोबार गर्ने बढी भए,’ उनले भने । 

त्यस्तै, गत साता ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा मुद्दा दायर ग¥यो ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठायो । कम्पनीका अनुसार हिसाब फरफारक गर्नका लागि असोज ४ गते ग्लोबल बैंकको शाखामै पुग्दा पनि अग्रवालले शाखा प्रबन्धकसँग आफैँ कुरा मिलाएर आउँछु भन्दै चेक लिएर फरार भएको उल्लेख गरिएको छ । 

यो घटनासँगै उधारो कारोबारको कारण बजार घटेको आकलन गर्न थालिएको छ । तर, यो वास्तविकता नभएको ब्रोकर एसोसिएसनका अध्यक्ष सापकोटाको दाबी छ । ‘यो बाहाना मात्रै हो । यस्तो खालको समस्या थियो । जुन समाधान भै सकेको छ । यसले बजार घटेको भने हैन,’उनले भने । 

यो साता अपर स्याङ्गे हाइड्रोपाववर, रुरु जलविद्युत परियोजना, विन नेपाल, सगरमाथा जलविद्युत, सामुदायिक जलविद्युत र युनिक नेपाल जलविद्युत कम्पनीको मूल्य धेरैले बढेको छ । 

दोर्दी खोला, रावा इनर्जी, समृद्धि फाइनान्स, भिजन लुम्बिनी, ग्रीन भेन्चर, सीइडीबी हाइड्रोपावर र साहज उर्जाको मूल्य धेरैले घटेको छ ।