शीर्षकहरू

कतारमा आजाद भिसामा जोखिम

कतारमा आजाद भिसामा जोखिम

कतारमा आजाद भिसामा वैदेशिक रोजगारीको लागि कतार पुगेका नेपाली श्रमिकहरू जोखिममा परेका छन् । कतार सरकारले पहिचान नगरेको आजाद भिसामा कतार पुगेका आप्रवासी श्रमिकहरूमा समस्या पर्ने गरेका हुन् । 

कतार स्थित नेपाली दूतावासको तथ्यांक अनुसार कतारमा करिब चार लाख नेपाली श्रमिक छन् । जसमध्ये करिब १५ देखि २० प्रतिशत नेपाली श्रमिक आजाद भिसामा कतार पुगेको अनुमान छ । कतार तथा नेपाल सरकारले आजाद भिसालाई भने पहिचान गरेको छैन । तर, कतारमा रहेका नेपाली नै अवैध रुपमा आजाद भिसाको व्यापारमा संलग्न रहेको पाइएको छ । 

आजाद भिसामा कतार पुगेका श्रमिक आफैले नै कामको खोज्नु पर्ने हुन्छ । काम छनौट गर्न पाउने हुँदा थोरै श्रमिकले राम्रै काम पनि पाउँछन् । तर, अधिकांशले भने जस्तो काम पाउँदैनन् । लामो समयसम्म बेरोजगार हुन पुगेका श्रमिक आर्थिक र मानसिक रुपमा जोखिममा पर्ने गरेको गैरआवासीय नेपाली संघ कतारले जनाएको छ । 

कतिपय श्रमिक नेपालबाट नै आजाद भिसामा कतार पुग्छन् भने कतिपय श्रमिक कतार पुगेपछि भिसा परिवर्तन गरी आजाद बनाउँछन् । तर, यस्तो खालको भिसालाई कतारको कानुनले अवैध मानेको छ । त्यसैले आजाद भिसामा कतार पुगेका श्रमिक कतार सरकारबाट कुनै पनि खालको कानुनी सहयोग नपाउने गरेको संघले जनाएको छ ।

कतारमा कुनै पनि मुलुकका नागरिकले कम्पनी खोल्न पाउने व्यवस्था छ । यस अघि यस्तो खालको व्यवसाय गर्दा कतारी नागरिकको ५१ र अन्य आप्रवासी नागरिक ४९ प्रतिशत लगानी हुनुपर्ने व्यवस्था थियो । तर, अहिले यो व्यवस्थालाई अलि सहज बनाएको छ । कतारको नियम अनुसारको प्रक्रिया पुरा गरेपछि कम्पनी स्थापना गर्न सकिनेछ । 

यसरी खोलिएका कम्पनीको वार्षिक कारोबार अनुसार कतार सरकारले आप्रवासी कामदार भर्ना गर्नका लागि भिसा प्रदान गर्छ । कम्पनी सञ्चालकले सो भिसा दूतावासमा प्रमाणीकरण गरी श्रमिक भर्ना गर्न सक्छन् । नियम अनुसार कतार सरकारबाट आप्रवासी कामदार भर्ना गर्नका लागि अनुमति पाएका कम्पनी आफैले नै कामदार भर्ना गरी आफनै कम्पनीमा रोजगारी दिनुपर्नेछ । तर, यस्ता कम्पनीले श्रमिक भर्ना गर्छन्, रोजगारी भने दिदैनन् । श्रमिक भर्ना गरी कतार ल्याइन्छ अनि श्रमिकलाई स्वतन्त्र रुपमा छोडिन्छ । 

श्रमिक आफैले काम खोज्नु पर्ने हुन्छ । तर, श्रमिकले भिसा बापत सो कम्पनी सञ्चालकलाई कम्तीमा वार्षिक ३ हजार रियालसम्म भुक्तानी गर्नुपर्ने हुन्छ । श्रमिकसँगको भिसा एउटा कम्पनीको हुन्छ भने काम अन्य कम्पनीमा गर्नुपर्ने हुन्छ । वार्षिक रुपमा भिसा प्रदान गर्ने कम्पनीले श्रमिकको आईडी नवीकरण गरिदिन्छ जस बापत उसले वार्षिक रुपमा कमिशन लिन्छ । 

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) स्वच्छ भर्ना सम्बन्धी व्यवस्था अनुसार जुन कम्पनीको भिसामा गएको सोही अनुसारको कम्पनी र काम गर्नुपर्ने हुन्छ । यसरी भिसा खरिद विक्री गर्ने कार्यलाई आईएलओले मानव तस्कर भनेको छ । 

त्यसैगरी कतार सरकारले पनि यस्तो कार्यलाई अवैध मानेको छ । तर, यस्ता कम्पनीले कानुनी रुपमा सबै प्रक्रिया पुराएको देखाउने हुँदा सरकारलाई पहिचान गर्न कठिनाइ हुने गरेको छ । 

कतारमा ५० हजार श्रमिक अवैध

कतारमा ५० हजार नेपाली श्रमिक अवैध रुपमा बस्दै आएको कतार स्थित नेपाली दूतावासले जनाएको छ । तर, यकिन तथ्यांक भने नभएको दूतावासले जनाएको छ ।

दूतावासले गरेको अध्ययनले कतारमा दूतावासको तथ्यांक अनुसार तीन लाख ६४ हजार ३८९ श्रमिक रहेको देखाएको थियो । जसमध्ये महिलाको संख्या करिब १५ हजार छन् । 

कुल नेपाली श्रमिकमध्ये कतारको सरकारी निकायमा कार्यरत श्रमिकको संख्या ९ हजार ४०९ रहेको छ । अर्ध सरकारी निकायमा कार्यरत नेपाली श्रमिकको संख्या ४ हजार ५४३, निजी क्षेत्रमा ३ लाख ४६ हजार ६६ र अन्यमा ३ हजार ७७३ रहेको उनले बताए । त्यस्तै, करिब ५० हजार अवैध छन् । कतार सरकारले आप्रवासी कामदारको लागि न्यूनतम् १००० रियाल पारिश्रमिक र खान बस्नको लागि ३०० रियाल तोकेको छ ।