शीर्षकहरू

आइतबारदेखि  घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुने

आइतबारदेखि  घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुने

काठमाडौं । “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रूपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो । 

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए । 

लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रूपमा रहेको उनले जानकारी दिए । घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्वारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताइन्। 

काठमाडौं जिल्लाका चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा गरिन लागेको यो दोस्रो जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दशैं महोत्सवमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरूको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताइन्। 

नेपाल सरकारमार्फत पनि स्वदेशी उद्योग तथा उद्यमीहरूलाई प्रवर्द्धन गर्नको लागि प्रतिस्पर्धी बजारमा स्वदेशी उत्पादनहरूलाई लागत घटाउनको लागि आवश्यक करका दरहरू देखि दर्ता, नवीकरणका कार्यहरू समेत सहज गर्नुपर्ने अप।अवस्था देखिएको मेला संयोजक श्रेष्ठले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले देशको व्यापारघाटा न्यूनीकरण गर्नुका साथै अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरणमा व्यापार मेलाको उल्लेख्य भूमिका रहेको बताए ।