शीर्षकहरू

जिओमेटले एक हजार रात्रिबसमा नि:शुल्क जीपीएस जडान गर्ने

जिओमेटले एक हजार रात्रिबसमा नि:शुल्क जीपीएस जडान गर्ने

काठमाडौं । यात्रुको सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दशैंपूर्व लामो दूरीका रात्रिबसहरूमा निःशुल्क जीपीएस उपकरण जडान गर्ने भएको छ । यस योजनाअन्तर्गत 'फर्स्ट कम, फर्स्ट सर्भ' आधारमा एक हजार वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए ।

'विशेषगरी दशैंजस्तो चाडपर्वमा जब लाखौँ नेपालीहरू लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन्, बस सञ्चालकहरूका लागि यात्रुको यात्रालाई सुरक्षित बनाउनु अत्यन्त जरुरी हुन्छ,' उनले भने, 'हामीले वितरण गर्ने यो जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्र्याक गर्न मद्दत पुर्याउनेछ। यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिनेछ। यसले यात्रुको यात्रा अनुभवलाई अझ आरामदायी बनाउने विश्वास लिएका छौँ।'

जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी हुने बताइएको छ । यसले बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ, जसले बस अहिले कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिन्छ । यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न सहयोग गर्छ, जसले बसको दीर्घकालीन सञ्चालनलाई अझ व्यवस्थित बनाउँछ । साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसहरूको अवस्थिति हेर्न सक्ने कम्पनीको भनाइ छ ।