शीर्षकहरू

मध्य भोटेकोशी जलविद्युतको शेयरको लकइन कात्तिक ११ गतेसम्म

मध्य भोटेकोशी जलविद्युतको शेयरको लकइन कात्तिक ११ गतेसम्म

काठमाडौं । तीन वर्ष लकइन अवधि समाप्त भई मध्य भोटेकोशी जलविद्युत कम्पनीको कुल ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको लइकन कात्तिक ११ गतेपछि सकिने भएको छ । कम्पनीले बिहीवार सूचना जारी गर्दै संस्थापक तर्फको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चयकोषमा रकम जममा गरेका सञ्चयकर्ता कर्मचारीहरुको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको २१ लाख कित्ता, ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीहरुको ६ लाख कित्ता र कम्पनीका कर्मचारीहरुको ३ लाख ६० हजार कित्ता शेयरको लकइन कात्तिक ११ गतेपछि सकिने जानकारी दिएको हो । 

सर्वसाधारणमा शेयर बाँडफाँट भएको मिति २०७८ साल कात्तिक १२ गतेदेखि यी शेयर तीन वर्ष अवधिका लागि लकइनमा रहेको थियो । पछिल्लो व्यवस्था अनुसार शेयरको लइकन खुल्नु एक महिना अगाबै सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने हुन्छ । कात्तिक ११ गतेपछि यी शेयर कारोबारयोग्य भएपछि सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने खरीद विक्री गर्न नपाउने जानकारी कम्पनीले दिएको छ ।

धितोपत्र दोस्रो बजारमा यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४७ रुपैयाँ ८० पैसा छ ।