शीर्षकहरू

दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए ७ अर्ब ७४ करोड शुल्क

दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए ७ अर्ब ७४ करोड शुल्क

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौं)मा ७ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि भदौ मसान्तसम्ममा ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क ४ लाख २८ हजार ६८ बीमालेख बिक्री गरेर संकलन भएको हो ।    

नेपाल बीमा प्राधिकरणका अनुसार गत भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २ लाख ६ हजार ९९७ वटा बीमालेख बिक्री गरेका हुन् ।   

भदौ महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क १२ हजार ८०९ बीमालेख बिक्री गरेर आएको हो । त्यस्तै, यस अवधिमा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले भने १४ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । 

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ३५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले २३ करोड १८ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्यारेन्स कम्पनीले २७ करोड ६३ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीले २१ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।    

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत भदौ महिनामा ३६ करोड बीमा शुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३८ करोड ५ लाख, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ करोड ३९ लाख र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २० करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।