शीर्षकहरू

साढे दुई महिनापछि हट्यो घान्द्रुक जाने सडकको अवरोध

साढे दुई महिनापछि हट्यो घान्द्रुक जाने सडकको अवरोध

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू भएको हो । 

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो । कार्यालय प्रमुख सीडीई सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको बताए । 

सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा एक महिनाभन्दा बढी समय लगाएर सडक मर्मत भएको अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरूङले बताए । 

‘घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जान्छ । लामो समयदेखिको अवरोध हटेको छ,’ उनले भने । 

नेकपा एमालेका सांसद प्रकाशबहादुर केसी गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेपछि तत्काल काम गरिनुपर्ने र भइराखेका सडकबारे चासो राखेका थिए । त्यसपछि उनले पर्यटकीय गाउँ भएकाले घान्द्रुक जाने बाटो मर्मतको काममा ढिलाइ नगर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएका थिए । 

मन्त्री केसीले घान्द्रुक जाने सडक लामो समयपछि खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले पूर्वाधार विकास कार्यालय कास्कीको टोलीसँगको भेटमा मंगलबार कार्यालय, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिलाई बाटो खुलाएकोमा धन्यवाद दिए । मन्त्री केसीले आफूले समस्यामा रहेका अन्य सडकखण्डको पनि पहिचान गरिरहेको र पहिचानपछि समस्या समाधान गर्ने उपाय खोज्ने बताए । चाडपर्वको समयमा आवागमनमा समस्या नहोस् भनेर आफूले चासो दिएको मन्त्री केसीले सुनाए ।

‘चाडपर्वको समयमा बाटो अवरुद्ध हुँदा अप्ठेरो हुन्छ । मैले मातहतका कार्यालयलाई पनि पहिरो गइहालेमा क्षेत्राधिकार हेरेर, समन्यव गरेर पन्छाउने काम गर्न तयार रहन भनेको छु,’ उनले भने । 

पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकोमा घान्द्रकका पर्यटन व्यवसायी उत्साही छन् । घान्द्रुकका युवा व्यवसायी अमृत गुरूङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकोमा समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे । 

‘घान्द्रुक गाउँ नजिकै सडक भासिएको थियो । एउटा गाडीमा गएर, बीचमा झरेर अलिकति हिँडेर अर्को गाडीमा जानुपथ्र्यो,’ उनले भने, ‘घान्द्रुकको स्थानीयलाई गाह्रो भयो । पर्यटक आउने जाने कुरामा अप्ठेरो भएको थियो । अब सहज भएको छ ।’ 

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रूपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।