शीर्षकहरू

असोज १७ गतेदेखि प्रथम स्याउ मेला हुने, ५० मेट्रिक टन बिक्रीको लक्ष्य

असोज १७ गतेदेखि प्रथम स्याउ मेला हुने, ५० मेट्रिक टन बिक्रीको लक्ष्य

काठमाडौं । यही असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१) हुने भएको छ । ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला तीन दिनसम्म चल्नेछ ।  

मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल एप्पल फेस्ट २०२४ नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवर्द्धन गर्ने तथा महोत्सवमा स्याउ उत्पादनदेखि बजारसम्म पुर्‍याउन कृषकले भोग्नुपरेका चुनौतीहरूको उजागर गर्ने आयोजकको भनाइ छ । 

स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको किसान भेन्चरले जनाएको छ । यसले स्थानीय रूपमा उत्पादन गरिएको स्याउको बारेमा ग्राहकलाई जानकारी दिई स्वस्थ स्याउ छनोट गर्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुनेछ भने बिक्री बौद्धस्थित उत्पला क्याफेबाट पनि हुने आयोजकले जनाएको छ ।

महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखिनेछन् । गाला, फुजी, रेड डेलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ, एप्पल पानीपुरी, एप्पल लेमन मिन्ट, मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विथ राइस, एप्पल पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारहरूको स्वाद प्रदर्शनी स्थलमा चाख्न पाइनेछ । 

किसान भेन्चरले यसअघि नेपाली उत्पादनलाई समर्थन गर्न र ताजा तथा स्वस्थ आँपको स्वाद बाँड्न गत असारमा प्रथम आँप मेला समेत गरेको थियो ।