शीर्षकहरू

इजरायलद्वारा लेबनानमा हमला : कम्तीमा १०० जनाको मृत्यु, ४०० बढी घाइते

इजरायलद्वारा लेबनानमा हमला : कम्तीमा १०० जनाको मृत्यु, ४०० बढी घाइते

एजेन्सी । इजरायलले लेबनानमा रहेको हिजबुल्लाहलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह गरेका छन् ।

आईडीएफका अनुसार हिजबुल्लाहले हालै इजरायलमा १५० रकेट प्रहार गरेको छ। यसको जवाफमा इजरायलले आफ्नो कारबाहीलाई तीब्र बनाएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग कुराकानी गरेका छन्। गैलान्टले अमेरिकी रक्षामन्त्रीलाई हिजबुल्लाहको खतरा र यसविरुद्ध इजरायलको कारवाहीबारे जानकारी गराएको छ ।

इजरायली आक्रमणपछि, हिजबुल्लाहले अब दक्षिणी लेबनानमा इजरायली आक्रमणको जवाफमा आफ्नो उपकरण गोदाममा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएको छ । इजरायली रक्षा बलले पनि एक विज्ञप्तिमा लेबनानबाट कम्तीमा ३५ वटा रकेट प्रहार गरी विभिन्न किसिमको क्षति पुगेको बताएको छ । धेरै रकेटहरू आफ्नो वायु रक्षा प्रणालीमार्फत् खसालिएको बताएको छ ।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानका अस्पतालहरूलाई अत्यावश्यक नभएका शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको छ । लेबनानमा इजरायली हमलामा घाइते भएकाहरुको उपचारका लागि यो तयारी भइरहेको छ ।