शीर्षकहरू

प्राधिकरणले बीमा नियमावलीमा ‘व्यक्तिगत छुट’ को व्यवस्था गरेपछि अभिकर्ता रुष्ट

प्राधिकरणले बीमा नियमावलीमा ‘व्यक्तिगत छुट’ को व्यवस्था गरेपछि अभिकर्ता रुष्ट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको बीमा नियमावलीमा ‘व्यक्तिगत छुट’ को व्यवस्था गरेपछि बीमा अभिकर्ताहरू रुष्ट भएका छन् । नियमावलीमा राखिएको सो व्यवस्था हटाउन अभिकर्ताहरुले प्राधिकरणलाई दबाब दिदै आएका छन् । 

प्राधिकरणले नयाँ बीमा नियमावलीको नियम ५२ मा कुनै पनि व्यक्ति आफै कम्पनीमा पुगेर पोलिसी खरिद गरेमा प्राधिकरणले तोके अनुसार बीमा शुल्क छुट दिइने व्यवस्था गरेको छ । त्यस्तै, प्राधिकरणले एकल बीमा पोलिसीमा अभिकर्तालाई दिइने ६ प्रतिशत कमिशन पाँच वर्षमा भुक्तानी गरिने, अभिकर्ताले जारी गरेको पोलिसीको नवीकरणको दर अनुसार मात्रै लाइसेन्स नवीकरण गरिने लगायतका व्यवस्था गरेको छ ।

प्राधिकरणको यस्तो व्यवस्थाले अभिकर्ता पेशा नै संकटमा पुग्ने भन्दै अभिकर्ताले विभिन्न निकायमा लबिङ्ग गरी रहेका छन् । 

गत शुक्रबार पेशागत बीमा अभिकर्ता संघ आफना माग सहित नेपाल बीमा प्राधिकरण पुगेको थियो । प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आइतबार छलफल गर्ने भनेपछि संघले आफना मागपत्र बुझाएर फर्केको संघका महासचिव ओम बहादुर केसीले बताए । 

प्राधिकरणले तोकेको समयमा अनुसार आइतबार संघका नेतृत्व र प्राधिकरणका प्रतिनिधि बीच प्राधिकरणमा नै छलफल भएको थियो । तर, छलफलमा प्राधिकरणका अध्यक्ष सिलवाल उपस्थित नभएको संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए । ‘छलफलमा अध्यक्ष ज्यू  उपस्थित नभएपछि उहाँ हाम्रा माग प्रति सकारात्मक हुनुहुन्न भनेर हामीले बुझेका छौ,’ उनले भने ।

प्राधिकरणका अन्य प्रतिनिधि र संघका नेतृत्व बीच आइतबार भएको छलफलमा संघ दुई वटा बुँदामा पछि हटेको संघका महासचिव केसीले बताए  । ‘लाइसेन्स नवीकरण शुल्कको बिषय र अनलाइन बीमा पोलिसी जारी गर्ने भन्ने व्यवस्थाका विषयमा हामी पछि हट्यौ,’ उनले भने । अन्तराष्ट्रिय स्तरमा नै यस्तो अभ्यास भएको पाइए पछि हामी पछि हटेका हौ । 
त्यस्तै, व्यक्तिगत छुट, एकल बीमाको कमिशन, अभिकर्ताको लाइसेन्स नवीकरणका लागि तोकिएको व्यवस्थाका हटाउन प्राधिकरणका प्रतिनिधि सहमत भएको उनले बताए । तर, अन्तिम निर्णय भने प्राधिकरणको बोर्डले नै  गर्ने प्राधिकरणले बताएको उनले बताए । ‘छलफलमा प्राधिकरणका प्रतिनिधि हाम्रा मागमा सहमत हुनु भएको छ । तर, अन्तिम निर्णय भने प्राधिकरणको बोर्ड बैठकले गर्ने बताउनु भएको छ,’ उनले भने । त्यसैले प्राधिकरणको बोर्ड बैठक हाम्रा लागि निर्णायक हुनेछ । सोमबार बेलुका प्राधिकरणको बोर्डको बैठक बस्ने भएको छ ।  

प्राधिकरणले अभिकर्ताको कामको प्रक्रिया र जिम्मेवारी नबुझीकन अव्यवहारिक व्यवस्था गरेको संघका अध्यक्ष अधिकारीले गुनासो गरे । ‘व्यक्तिगत छुटको व्यवस्था गर्ने हो भने अभिकर्ता नै चाहिँदैन । अभिकर्ता नै नहुने हो भने पोलिसी कसरी काटिन्छ । नेपाल जस्तो मुलुकमा अभिकर्ताले नै बुझाउँदा त मानिसहरूले बीमा बुझि रहेका छैनन् ।  यस्तो अवस्थामा अभिकर्ता नै हटाउने खेल रच्नु भनेको मुर्खता हो,’ उनले भने ।