शीर्षकहरू

वित्तीय प्रणालीको जोखिम न्यूनीककरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो : अर्थमन्त्री

वित्तीय प्रणालीको जोखिम न्यूनीककरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो : अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो । एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो ।

सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताए । उनले कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो रहने उल्लेख गरे ।

मन्त्री पौडेलले नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने बताए । उनले भने, “सरकारले नवप्रवर्तनका लागि ‘इकोसिष्टम’ विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ । बजेटमार्फत रु १ अर्बको नेपाल स्टार्टअप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।”

सुरक्षण सेवाका कारण साना व्यवसाय सफल भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालमा पनि सहयोग पुगेको बताए । उनले आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न जरुरी रहेको बताए । कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोषको स्थापना भएको स्मरण गर्दै उहाँले त्यसबाट महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे ।

उनले सोही समारोहमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्षिकोत्सवको समेत उद्घाटन गरेका थिए । एसिक सम्मेलन सोमबारसम्म चल्ने छ । मन्त्री पौडेलले सम्मेलनले आपसी बलियो अन्तर्राष्ट्रिय संस्थागत सञ्जाल निर्माण हुँदा कर्जासम्बन्धी जिम्मेवार संस्थाको क्षमता अभिवृत्ति हुनेमा विश्वास व्यक्त गरे । सम्मेलनले कर्जा सुरक्षाका लागि रचनात्मक सुधारमा सहयोग पुग्ने पनि उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मेलनले नेपाल जस्ता देशको आर्थिक विकासमा सहयोग पुर्याउनेमा  अपेक्षा गरिएको बताए । सम्मेलनबाट प्राप्त हुने निचोड नेपाललगायतका देशलाई आवश्यक नीति निर्माणमा समेत सहयोग पुर्याउने उनको भनाइ थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सम्मेलन कर्जा सुरक्षणका लागि बलियो आधार बन्ने विश्वास व्यक्त गरे । 

सम्मेलनमा विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायका प्रतिनिधिले आफ्नो अनुभव राख्नेछन् ।  सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ देशका प्रतिनिधिहरुको सहभागिता छ ।