शीर्षकहरू

लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने

लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायीलाई परेको आर्थिक सङ्कटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थालिने उल्लेख गरे । 

“सरकारले लगानीका क्षेत्र पनि परिभाषित गरेको छ । सूचना प्रविधि, ऊर्जा, कृषि र उद्योगलगायत क्षेत्र प्राथमिकतामा छन् । लगानी सम्मेलन गरी नीतिगत सुधार गर्दै गएका छोँ । अझै लगानीको पर्याप्त वातावरण बनेको छैन । यो वातावरण बनाउने दायित्व सरकार,सरोकार भएका निकायका साथै निजी क्षेत्रको पनि हो”, मन्त्री भण्डारीले भने । 

निजी क्षेत्र उत्साहित नहुनुको कारण पत्ता लगाई समाधान खोज्न समन्वय, सहकार्य र छलफलका माध्यमबाट सम्भव हुने उनले धारणा राखे । हरेक व्यक्तिले सरकार, राज्य मेरो हो भन्ने वातावरण तयार नभएसम्म आर्थिक समृद्धि नहुने बताउँदै मन्त्री भण्डारीले सरकारका नीति तथा कार्यक्रममा कमजोरी भए सच्याउन सकिने भएकाले छलफलमा आउन उद्योगी व्यवसायीलाई आग्रह गरे । 

“सरकारको नेतृत्व गर्ने हरेकले जनताका पक्षमा, आर्थिक समृद्धि प्राप्तिका लागि काम गर्नुपर्छ । मुलुकको विकास र समृद्धिका पक्षमा सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । सरकारबाट जनताले आशा राख्न छाड्नुहुँदैन । नीतिगत कमजोरी भए त्यसमा बहस गरौँ नीति, नियममा सुधार गरी कार्यक्रम सच्याउँछौँ । सरकारलाई बलियो बनाउँदै जनताले अपनत्व महसुस गर्ने बनाउँछौँ”, उनले भने । 

युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याइएको बताउँदै मन्त्री भण्डारीले युवापुस्तामा विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद् नभएको धारणा राखे। सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर देशको विकास सम्भव भएको उल्लेख गर्दै जनतामा देखिएका निराशाको अन्त्य गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए । जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्नेमा उनले जोड दिए ।