शीर्षकहरू

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

कार्यक्रममा उनले भने, “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।”

महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर  सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो ।  

“पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ”, उनले भने । 

यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए । ढकालले भने, “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरुलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकैदिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिलेपहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरुले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ ।”