शीर्षकहरू

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार भन्दा बढीले दिए आवेदन

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार भन्दा बढीले दिए आवेदन

काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार भन्दा बढीले आवेदन दिएका छन् । अनलाइन र फलाइन गरी ५ हजार  २५० उद्यमीले परियोजना प्रस्ताव पेस गरेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

प्रष्तिठानले गत भदौ ११ मा एक सूचना जारी गर्दै आवेदन माग गरेको थियो । २१ दिनको अवधिमा केहीले अनलाइन र केही प्रतिष्ठानमा नै उपस्थित भै आवेदन दिएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका अनुसार अनलाइन आवेदनका लागि ६ हजार ६८६ जनाले युजर क्रिएट गरेका थिए । जसमध्ये ३ हजार ४०० जनाले मात्र सबै प्रक्रिया पु¥याएर आवेदन दिएका छन् । १ हजार ८५० उद्यमीले भने प्रतिष्ठानमा नै उपस्थित भै आवेदन दिएका थिए । प्रतिष्ठानमा परेको आवेदनहरूको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१ अनुसार भए नभएको परीक्षण गरी लिस्ट सार्वजनिक गरिनेछ । 

कार्यविधि अनुसार स्टार्टअप कर्जाका लागि उद्योग व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्नेछ । वार्षिक कारोबार १५ करोडभन्दा बढी ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको हुनुपर्नेछ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साउन ३० मा कार्यविधि स्वीकृत गरेको थियो । विनियोजन विधेयकअनुसार कार्यविधि ल्याइएकाले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न हरेक वर्ष कार्यविधि स्वीकृत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रतिष्ठानले परियोजना प्रस्ताव आह्वान गरेको थियो । 

आवेदनबाट छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम् पाँच लाख रुपैयाँदेखि अधिकतम २५ लाख रूपैयाँसम्म कर्जा पाउनेछन् । यो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ भने पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रूपमा राख्नुपर्नेछ । व्यवसाय वा परियोजनाको बीमा भने उद्यमीले स्वयं गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, कर्जा प्रवाह गर्ने बैंकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्क बापत सम्बन्धित उद्यमीबाट कर्जा रकमको अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन् । कर्जा बापतको रकम बैंकमा छुट्टै खाता खोली जम्मा गर्नुपर्नेछ ।