शीर्षकहरू

भदौमा अपि पावरको सर्वाधिक कित्ता शेयर कारोबार, अन्यकाे कति ?

भदौमा अपि पावरको सर्वाधिक कित्ता शेयर कारोबार, अन्यकाे कति ?

काठमाडौं । भदौ महिनामा कुल कारोबार कित्तामा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको छ । भदौ महिनामा कुल ५७ करोड १९ लाख ६५ हजार कित्ता धितोपत्र कारोबार भएकोमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको हो  । 

नेप्सेले सार्वजनिक गरेको भदौ महिनामा भएको कारोबारको तथ्याङ्कलाई हेर्दा अपि पावरको सर्वाधिक १ करोड ८० लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ । जलविद्युत कम्पनीहरूमध्ये अपि पावर लगानीकर्ताको आकर्षणभित्र पर्ने कम्पनीहरुमध्येकै एक हो ।

यस कम्पनीले गत वर्षको मुनाफाबाट कुल ९ दशमलव ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँको आधारमा कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएको छ । सर्वाधिक कित्ता शेयर कारोबार भएको महिना अपि पावरको शेयरमूल्य अघिल्लो महिनाको तुलनामा ५६ रुपैयाँ ३० पैसाले घटेको छ । समग्र बजार घटेसँगै भदौ महिनामा अपि पावरको शेयरमूल्यमा समेत असार परेको हो । साउन महिनाको तुलनामा भदौ महिनामा धितोपत्र दोस्रो बजार ४२० अंकले घटेको छ । साउन महिनाको अन्तिम दिन ३ हजार दशमलव ८१ विन्दुमा रहेको नेप्से भदौ महिनाको अन्तिम दिन २ हजार ५८० दशमलव ७६ विन्दुमा बन्द भएको हो । 

भदौ महिनामा कारोबार कित्ताका हिसाबमा जलविद्युत कम्पनीहरूको बढी कारोबार भएको देखिन्छ । सर्वाधिक शेयर कारोबार गर्ने दश कम्पनीभित्र जलविद्युत क्षेत्रका ६ कम्पनी रहेका छन् । सर्वाधिक दोस्रोमा अरुणभ्याली हाइड्रोपावरको १ करोड ४७ लाखभन्दा बढी कित्ता कारोबार भएको छ । 

त्यस्तै, तेस्रोमा कुमारी बैंकको १ करोड ३५ लाखभन्दा बढी , चौथोमा हिमाल दोलखाको १ करोड २७ लाखभन्दा बढी , पाँचौमा अपर तामाकोशीको १ करोड २४ लाखभन्दा बढी र छैठौंमा हाइड्रोईलेक्ट्रीसिटीको १ करोड १९ लाखभन्दा बढी रहेकाे छ ।

सातौमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ करोड १५ लाखभन्दा बढी, आठौमा प्रभु बैंकको १ करोड ७ लाखभन्दा बढी, नवौंमा अरुण काबेली पावरको ९६ लाख ८१ हजार र दशौ नम्बमा सिंगटी हाइड्रोको ९२ लाख ५९ हजार कित्ता शेयर कारोबार भएको छ । कम मूल्य भएका कम्पनीको शेयर कारोबारमा भदौ महिनामा लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ ।