शीर्षकहरू

अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै आँखुखोला जलविद्युत

अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै आँखुखोला जलविद्युत

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । 

कम्पनीले १५० प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जनालाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरिएको थियो । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा लिलामीमा आउन लागेको यी शेयर खरीदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले असोज २० गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । 

आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौं वा नबिल बैंकको शाखा कार्यालयहरू विर्तामोड, विरगञ्ज, हेटौडा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पेश गर्नुपर्नेछ ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर सम्पूण कित्ता बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ ।