शीर्षकहरू

मलेसियाले खुलायो आंशिक रोजगारी

मलेसियाले खुलायो आंशिक रोजगारी

काठमाडौं । आप्रवासी श्रमिकको संख्या अधिक भएपछि बन्द भएको मलेसिया रोजगारी पुन ः आंशिक रुपमा खुला भएको छ । मलेसियन सरकारले विभिन्न मुलुकका दूतावासलाई पत्र पठाउँदै निश्चित क्षेत्रमा रोजगारी खुलाइएको जानकारी दिएको छ । 
मलेसियन सरकारले पत्र पठाउँदै नेपालका लागि विभिन्न क्षेत्र खुला गरिएको जानकारी दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । मलेसियाले तत्कालका लागि प्लान्टेसन, सर्भिस, गार्मेन्ट लगायतका क्षेत्रमा श्रमिक लैजाने जानकारी दिएको छ,’ उनले बताए । करिब ६ महिना पछि मलेसियाले आंशिक रुपमा रोजगारी खुलाएको हो । मलेसियाले बंगलादेशको लागि प्लान्टेसन क्षेत्र खुल्ला गरेको छ । 


मलेसियाले केही मुलुकबाट पूर्ण रुपमा आप्रवासी श्रमिक भित्र्याउन बन्द गरेको भए पनि नेपालको हकमा भने लिखित रुपमा नै बन्द नगरेको संघका महासचिव भुर्तेलले बताए । ‘नेपालको हकमा स्वास्थ्य परीक्षण बन्द गर्नका लागि त्यतिबेला औपचारिक पत्र नै पठाएको थियो । अहिले मेडिकल खुल्ला गर्नका लागि मलेसिया सरकारले औपचारिक रुपमा पत्र नै पठाएको छ,’ उनले भने । 

मलेसियाले गत वैशाखको दोस्रो साता पछि आप्रवासी श्रमिक भित्र्याउन बन्द गरेको थियो । गत जेठ ४ गते भित्र भिसा लगाई सकेका श्रमिकको हकमा भने जेठ अन्तिममा मलेसिया प्रवेश गरी सक्न सु्चना जारी गरेको थियो । त्यसपछि भने मलेसिया सरकारले नयाँ डिमाण्ड भने जारी गरेको थिएन ।  

मलेसियामा विश्वका विभिन्न १५ वटा मुलुकका नेपाली श्रमिक छन् । मलेसिया श्रमिक पठाउने स्रोत मुलुकमध्ये नेपाल तेस्रोमा पर्छ । मलेसियामा भारत र इण्डोनेशियाका श्रमिक अधिक छन् । 

मलेसिया करिब पाँच लाख नेपाली श्रमिक छन् । मलेसियाको सुरक्षा गार्डमा ९९ प्रतिशत नेपाली छन् । मलेसियाले आप्रवासी श्रमिकको न्यूनतम् पारिश्रमिक १५०० रिंगेट तोकेको छ । मलेसियामा जाने आप्रवासी श्रमिकले स्थानीय श्रमिक सरह पारिश्रमिक पाउँछन् । त्यस्तै, मलेसियाले आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षा योजना सुविधा पनि प्रदान गर्दै आएको छ । त्यसैले पनि मलेसिया नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक बन्दै आएको छ । 
नेपाल र मलेसिया बीच सन् २०१८ मा शून्य लागतमा श्रम सम्झौता भएका थियो । श्रम सम्झौता समाप्त भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । तर, सम्झौता नवीकरण भने हुन सकेको छैन ।