शीर्षकहरू

अब घाम तापेर तलब पकाउन पाइँदैन : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कर्मचारीलाई अब घाम तापेर तलब पचाउने दिन गएको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारदेखि सुरु गरेको सुपथ मूल्य पसल सञ्चालनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

खाद्यले दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै आजदेखि काठमाडौं उपत्यकासहित देशैभर सरकारबाट स्वीकृत ३ करोड रुपैयाँ बराबरको सामग्रीसहित ४२ जिल्लामा ६३ स्थानहरूबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन आजदेखि आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

उनले मन्त्रालयको सुधार कार्यक्रमभित्र खाद्यको विषय पनि जोडिएको बताउँदै खाद्य कम्पनीलाई मन्त्रालयले चासोका साथ हेरेको बताए । १५/१५ दिनमा विवरण बुझाउन निर्देशन समेत दिँदै उनले भने, 'हामीले १५/१५ दिनमा कामको विवरण बुझाउनु पर्ने हुन्छ । अब घाम तापेर तलब पकाउन पाइँदैन ।'

सरकारले सुरु गरेको सहुलियत पसलले सर्वसाधारणालाई राहात मिल्ने उनको भनाइ छ । बाहिरको मूल्यभन्दा कम मूल्यमा नै खाद्यान्न खरिद गर्न सकिनेगरी सरकारले उपभोक्तालाई राहत दिएको उनले बताए ।

यसैगरी उनले वित्तीय क्षेत्रमा पैसा थुप्रिएर बसेको बताउँदै सातै प्रदेशमा कोल्डस्टोर बनाउन पनि आग्रह गरे । उनले भने, 'आजका दिनमा सातै प्रदेशमा कोल्ड स्टोर बनाउँछु भन्यो भने कसले पैसा दिँदैन ? जुन बैंकले पनि दिन्छ । योजना लिएर अगाडि बढ्ने हो भने जसले पनि सहयोग गर्छ ।'

नागरिकको खाद्य संस्थाले खाद्यान्न पुर्‍याउने भएकाले तीनै तहका सरकारले सहयोग गर्ने उनले बताए ।

यसैगरी कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्यान्नको गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गरे । खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति राजनीतिक भए पनि कम्पनीमा काम गर्दा उपभोक्तालाई  ध्यानमा दिएर काम गर्न आग्रह उनले गरे ।