शीर्षकहरू

आईपीओ निष्कासनको तयारीमा ठमेल प्लाजा, नियुक्त गर्यो बिक्री प्रबन्धक

आईपीओ निष्कासनको तयारीमा ठमेल प्लाजा, नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासनको तयारी सुरु गर्दै बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।  

बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँका दरले १० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो । बिक्री प्रबन्धक नियुक्त भएसँगै अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृति लिनका लागि प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ । 

ठमेल प्लाजा होटल एण्ड सुइटस कम्पनी बिगत तीन वर्षदेखि सञ्चालनमा रहेको छ । काठमाडौ महानगरपालिका– १६ स्थित ठमेलमा सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल “रमदा इन्कोर काठमाडौं ठमेल” को नामबाट सञ्चालित छ । यस होटलले हाल ९० वटा कोठा मार्फत आन्तरिक तथा बाह्य पर्यटक/अतिथिहरुलाई सेवा प्रदान गरिरहेको छ । 

आईपीओ निष्कासन गर्नुअघि यस कम्पनीले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी हकप्रद शेयर विक्री गरेको हो ।