शीर्षकहरू

असोज १७ गतेदेखि हिमालयन इन्टरनेशनल एक्सपो हुने

असोज १७ गतेदेखि हिमालयन इन्टरनेशनल एक्सपो हुने

काठमाडौं ।  हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा यहि असोज १७ देखि १९ गतेसम्म एक्सपो आयोजना हुने भएको हो । 

अध्यक्ष कपिल अधिकारीका अनुसार एक्सपोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन लगायतका स्टलहरु हुनेछन् । 

यस्तै, भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री पनि रहने उनले बताए ।

अधिकारीका अनुसार पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु एक्सपोमा उपलब्ध हुनेछन् । 

नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ताहरु खासगरी अमेरीका, क्यानडा, यूरोप, चीन, भारत लगायत अन्य देशहरुबाट आउने पनि आयोजकले जनाएको छ । 

नेपाल हस्तकलाको प्रवद्र्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्सपोले देशबाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्याउने उद्देश्यले अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा पनि हरेक वर्ष एक्सपो हुने गरेको छ । 

केही महिनाअघि मात्रै संयुक्त राज्य अमेरिकामा एक्सपो सम्पन्न भइसकेको छ । असोजमा नेपालमा एक्सपो आयोजना गर्ने र त्यसपछि अन्य मुलुकहरुमा पनि हस्तकला एक्सपो आयोजना हुने आयोजकले जनाएको छ । 

हिमालयन एक्सपोमा के हुन्छ ?

बीटुबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्सपो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । यहाँ सयौं स्टलहरु हुन्छन् । विश्वका विभिन्न मुलुकबाट क्रेताहरु पनि स्टलमा आउनेछन् । हिमालयन एक्सपोको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवद्र्धन गरी विश्वबजारमा चिनाउनु नै हो । एक्सपोको उद्देश्य हस्तकलासँग सरोकार राख्नेहरुका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु हो ।  

अनुसन्धान, छलफल र बहसका लागि हिमालयन इन्टरनेशनल एक्सपोले साझा मञ्च उपलब्ध गराउने हो । क्रेतालाई विक्रेताको स्टलसम्म पुर्याउने माध्यम हिमालयन एक्सपो हो । योसँगै हस्तकला व्यवसायी र उत्पादकहरुको सम्बन्ध निर्माण गर्ने उद्देयश्य पनि एक्सापेले लिएको छ ।