शीर्षकहरू

लघु बीमा कम्पनीलाई पनि तेस्रो पक्ष बीमा पुलमा सहभागी गराइने

लघु बीमा कम्पनीलाई पनि तेस्रो पक्ष बीमा पुलमा सहभागी गराइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मोटर बीमा अन्तर्गतको तेस्रो पक्ष बीमा व्यवसाय पनि लघु बीमा कम्पनीलाई वितरण गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले तेस्रो पक्ष बीमा पुलको संरचना नै परिमार्जन गर्ने तयारी गरेको हो । 

नेपाल सरकारले मोटर बीमा अन्तर्गतको तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको छ । अनिवार्य गरेको बीमा व्यवसायमा सबै कम्पनीले पाउनु पर्ने भन्दै लघु बीमा कम्पनीलाई पनि हिस्सेदार बनाउन खोजिएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘सरकारले अनिवार्य गरेको बीमा हो । कसैले पाउने कसैले नपाउने हुन भएन । सबैले पाउनु पर्छ,’ उनले भने । 

न्यून आय भएका वर्गलाई पनि बीमामा समेट्ने भन्दै सरकारले लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको हो । गत वर्ष देखि सञ्चालनमा आएका कम्पनीलाई प्राधिकरणले व्यवसायको सीमा पनि विस्तार गर्दै लगेको छ । 

सुरुवातमा लघु बीमा कम्पनीले तेस्रो पक्ष बीमा गर्न पाउने व्यवस्था थिएन । अहिले भने प्राधिकरणले त्यो सुविधा पनि प्रदान गर्ने तयारी गरेको छ । तेस्रो पक्ष बीमाको बीमांक रकम सानो हुने भएकाले कम्पनीलाई तेस्रो पक्ष बीमा गर्ने अधिकार दिइन लागिएको उनले बताए । ‘कम्पनीहरू सञ्चालन आएपछि व्यवसाय पनि त दिनु प¥यो,’ उनले भने । 

हाल निर्जीवन बीमा कम्पनीहरूले तेस्रो पक्ष बीमा पुल मार्फत गर्दै आएका छन् । तर, तेस्रो पक्ष बीमा पुल पनि वैज्ञानिक नभएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए । ‘पुल पनि वैज्ञानिक छैन । त्यसैले पुलको संरचना पनि परिवर्तन गर्ने र तीन वटा लघु बीमकलाई पनि समावेश गर्नेछौ,’ उनले भने । 

तर, बीमकहरुले भने प्राधिकरणले क्षमता विपरीत लघु बीमा कम्पनीलाई मोटर बीमामा समावेश गराउन खोजिएको गुनासो गरेका छन् । लघु बीमा कम्पनी भनेको सानो सानो रकमको बीमा गर्ने कम्पनी हो । यसको उद्धेश्य र लक्षित वर्ग फरक छन् । तर, प्राधिकरणले मनोमानी रुपमा लघुबीमा व्यवसायको क्षेत्र विस्तार गरेको बीमकहरुको बताउँछन् । तेस्रो पक्ष मात्रै हैन प्राधिकरणले मोटर बीमा व्यवसाय पनि लघु बीमा कम्पनीलाई दिने तयारी गरेको उनीहरुको गुनासो छ । मोटर बीमाको बीमांक रकम अधिकतम एक करोड ६० लाख रुपैयाँको हुन्छ । लघु बीमा कम्पनीले पनि यति ठूलो रकमको बीमा गर्ने हो भने लघु बीमाको अर्थ नहुने उनीहरुले बताए । लघु बीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको बीमा गर्न पाउने व्यवस्था छ । 

प्राधिकरणले हालै वैदेशिक रोजगार म्यादी जीवन बीमाको पुलको संरचना पनि परिवर्तन गरेको छ । नयाँ लघु बीमा कम्पनीलाई पनि समावेश गरी नयाँ संरचना तयारी पारिएको छ ।