शीर्षकहरू

अपाङ्गता भएका १२ जनासहित ९६ इजरायली पर्यटक नेपाल आए

अपाङ्गता भएका १२ जनासहित ९६ इजरायली पर्यटक नेपाल आए

काठमाडौं । अपाङ्गता भएका १२ जना पर्यटकसहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल स्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गर्नु भएको थियो ।

सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ्ग र मुस्ताङ्गका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । बुधबार काठमाण्डौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ ।
  
अपाङ्गता भएका पर्यटकहरुको आगमन र उनीहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । “हामीले कतिपय स्थानमा अपाङ्गता मैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं । जसले नेपाल सवलाङ्गका लगिमात्र नभई अपाङ्गताहरुका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ”, उनले भने ।

विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे । “नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृतिर आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका  अपाङ्गता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ”, उनले भने ।