शीर्षकहरू

भोलिदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने, शुल्क नलाग्ने

भोलिदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने, शुल्क नलाग्ने

काठमाडौं । संविधान दिवसको अवसर पारेर भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुने भएको छ । गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

वि.सं. १८८२ मा भीमसेन थापा प्रधानमन्त्री भएको बेला निर्माण गरिएको धरहरा १९९० को भूकम्पले माथिका दुई तला भत्किएपछि ९ तला रहेको थियो । । पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भएपछि विसं २०७५ मा सरकारले रमन कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएर पुनर्निर्माण गराएको हो । यसअघि ९ तले रहेको धरहरा २२ तले बनाइएको छ भने लिफ्ट पनि थपिएको छ ।

२०७८ वैशाख ११ पूर्ण रुपमा काम नसकिई त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरे पनि निर्माण सम्पन्न हुन नसकेका कारण सञ्चालनमा आउन नसकेको हो । अझै धरहरा निर्माणको केही काम बाँकी रहेकाले तत्काल सरकारले अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

धरहरा सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिइएको छ । भोलिदेखि सञ्चालन आउने धरहरा सर्वसाधारणले नि:शुल्क चढ्न पाउनेछन् । शहरी विकास मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्य कुँवरले तत्काल धरहरा चढ्न शुल्क निर्धारण नगरिएको बताइन् । यद्यपि, केही समयपछि पनि शुल्क निर्धारण गरेर सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको छ ।