शीर्षकहरू

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित

एजेन्सी । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।  

थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७  जनाको मृत्यु भएको पुष्टि भएको छ ।  ​​​​​​राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो ।  

कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य  भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताउनुभएको छ ।  यसैगरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरु रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ ।​​​​​​​ म्यानमामा बाढीका कारण करिब चार लाख मानिसहरू विस्थापित भएका छन् । 

युनिसेफले यागीले म्यानमामा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई  सङ्कटमा धकेलेको उल्लेख गरिएको छ ।  विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपतकालीन प्रतिक्रिया सुरु गरी पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ ।

युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।  -रासस