शीर्षकहरू

तरकारीमा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्न जरुरी: कृषिमन्त्री

तरकारीमा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्न जरुरी: कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको  बताएका छन् । काठमाडौंको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको  जीवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले  लिएका लक्ष्यहरू पुरा हुन नसक्ने बताएका हुन् । 

आफूले मन्त्रालयको जिम्मेवारी लिए देखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले  भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको  बताए । तरकारीमा विषादीको  अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले  यसलाई न्यूनीकरण गर्न जरुरी रहेको  बताए । 

विषादी न्यूनीकरणका लागि किसान दाजुभाइलाई मन्त्री अधिकारीले आग्रह पनि गरे । किसान र सम्बन्धित निकाय वीच निकटता भएमात्र किसानका समस्या समाधान हुने भएकाले यो  खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताए । किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरूको आवश्यकता रहेकोमा  पनि मन्त्री अधिकारीले जोड दिए ।