शीर्षकहरू

सहकारी प्रकरणमा छानबिन समितिको प्रतिवेदनविपरीत रविको दाबी

सहकारी प्रकरणमा छानबिन समितिको प्रतिवेदनविपरीत रविको दाबी

काठमाडौं । सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले संसद्‌मा आफ्नो प्रतिवेदन पेस गर्‍यो । समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी), सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

सहकारीबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम जीबी राई र रवि लामिछानेले चेक काटेर खर्च गरेका छन् । समितिले तयार पारेको प्रतिवेदनमा पैसा खर्च गर्न रविको संलग्नता रहेकाले कारबाहीको सिफारिस गरेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’  

तर प्रतिवेदनको सिफारिसभन्दा ठीक विपरीत पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफू निर्दोष सावित भएको दाबी गरेका छन् । सोमबार नै संसद्‌बाट निस्कँदै संक्षिप्त प्रतिक्रिया दिइ आफू दोषी ठहर नभएको दाबी गरेका लामिछानेले मंगलबारदेखि काठमाडौंमा सुरु पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताए ।

‘सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग। सहकारी ठग भन्नेकुरा त लगभग सकियो। प्रमाण कस्तो हुन्छ भन्नेकुरा त आफ्नै केन्द्रीय नेताहरु बसेको भएर थाहा भइहाल्यो होला नि। कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि। म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुपर्यो नि,' उनले भने ।

रवि मात्रै होइन रास्वपाका अन्य नेताहरूले पनि रवि निर्दोष प्रमाणित भएको दाबी गरिरहेका छन् । यद्यपि, समितिको प्रतिवेदनले उनलाई निर्दोष भने भनेको छैन । बरु भनेको छ, 'कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।'

अर्थात् सहकारीको रकम अपचलन भइ गोर्खा मिडियामा गएको र कम्पनीका सञ्चालक वा शेयरहोल्डर संस्थाका मुख्य जिम्मेवार हुने भएकाले खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुने हुँदा त्यसवापत दायित्व ग्रहण गर्नुपर्ने समितिको भनाइ छ ।