शीर्षकहरू

सफाइ क्षेत्रमा ३०० नेपाली श्रमिक लैजाँदै जापान, यस्तो छ आवेदन प्रक्रिया

सफाइ क्षेत्रमा ३०० नेपाली श्रमिक लैजाँदै जापान, यस्तो छ आवेदन प्रक्रिया

काठमाडौं । जापानले विशेष दक्ष कामदार–स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) भिसा अन्तर्गत ‘भवन सफाइ’ का क्षेत्रमा ३०० नेपाली श्रमिक लैजाने भएको छ । जापान लैजानका लागि जापानले आगामी मंसिर १२ देखि १४ गतेसम्म काठमाडौंमा प्रयोगात्मक परीक्षा लिने भएको छ । 

जापान सरकारले सन् २०१९ देखि एसएसडब्ल्यू कार्यक्रम अन्तर्गत नेपाली श्रमिक लैजाने गरेको छ । यो कार्यक्रम अन्तर्गत जापानले विभिन्न १२ वटा क्षेत्रमा श्रमिक लागे गरेको छ । फुड सर्भिस, नर्सिंग केयर र अकोमेडेसन लगायतका क्षेत्रमा जापानले नेपाली श्रमिक लग्दै आएको छ । अब भने नेपालबाट ‘भवन सफाइ’ क्षेत्रमा पनि जापानले नेपाली श्रमिकले लैजान लागेको हो । 

भवन सफाइ क्षेत्रमा नेपाली श्रमिक लैजानका लागि जापानको सरकारी निकाय, जापानको भवन मर्मत संघ (जेबीएमए) र जापानको प्लेन्टी कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपाल आएर सम्भावनाको बारेमा अध्ययन गरेको थियो । अध्ययन पछि नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक भएको प्लेन्टी कम्पनीले जनाएको छ । 

जापान सरकार सकारात्मक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा स्वीकृति पाएसँगै संघले नेपाली श्रमिक लैजाने प्रक्रिया सुरु गर्न थालेको हो । जापानले नेपाली श्रमिकको भाषा र सीप परीक्षा लिनेछ । 

कसरी दिन सकिन्छ आवेदन, के के चाहिन्छ योग्यता ?

जापान सरकारले आगामी अक्टोबर महिनामा आवेदन खुलाउने जनाएको छ । योग्यता पुगेका व्यक्तिले अनलाइनबाट आवेदन दिन सक्नेछन् । 

आवेदन दिनको लागि भने १७ वर्ष पुरा भएको हुनुपर्नेछ । एसएसडब्ल्यू अन्तर्गत तोकिएको जेएफटीको कुनै एक भाषाको लेभल पास गरेको हुनुपर्नेछ । यस अघि नै भाषाको कुनै लेभल पास गरिसकेका व्यक्तिले पनि सीप परीक्षण उर्तिण गरेर जापान जान सक्नेछन् । 
भाषा र सीप परीक्षा उर्तिण गरी जापान जाने श्रमिकले जापानी नागरिक सरह पारिश्रमिक र अन्य सेवा सुविधा पाउनेछन् । 

यस क्षेत्रमा कामदार लैजान लागेको जापानको भवन सरसफाइ क्षेत्रको संघले नै परीक्षा सञ्चालन गर्नेछ । नेपालमा त्यसको व्यवस्थापन काठमाडौंको बानेश्वर स्थित प्लेन्टी ट्रेनिङ नेपालले गर्नेछ ।

सीप परीक्षण १०० अंकको हुनेछ । जसमध्ये ६० अंकको प्रयोगात्मक र ४० अंकको लिखित हुनेछ  । बढी प्रयोगात्मक हुने भएकाले सहजै पास हुन सकिने प्लेन्टी नेपालले जनाएको छ । 

सीप र भाषा परीक्षा उर्तिण गरेका व्यक्ति दुई देखि चार महिनामा जापान पुगेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । नेपाली श्रमिकको लागि यो नयाँ क्षेत्र हो  । त्यसैले प्रतिस्पर्धा कम हुने र प्रक्रिया पनि छिटो हुने कम्पनीले दाबी गरेको छ । 

भाषा र सीप सम्बन्धी तालिम प्लेन्टी नेपालले पनि सञ्चालन गरिरहेको छ । तालिम कक्षा अक्टोबर एक देखि सञ्चालन हुने प्लेन्टी नेपालले जनाएको छ । यो तालिम करिब एक देखि डेढ महिनामै पूरा हुने कम्पनीले जनाएको छ । 

पाँच वर्षको हुनेछ भिसा अवधि

एसएसडब्ल्यू अन्तर्गत भवन सफाइ क्षेत्रमा जाने श्रमिक भिसा अवधि पाँच वर्षको हुनेछ । तर, रोजगारदाताले चाहेमा भिसा अवधि थप पनि हुन सक्नेछ । लामो समय जापानमै बसेर केही गर्न चाहन्छु भन्नेले एसएसडब्ल्यू २ स्तरमा जान सकिने बाटो पनि रहेको प्लेन्टीले जनाएको छ । दोस्रो स्तरमा पुगेपछि जापान बसाई अवधि सहजै लम्बाउन सकिने प्लेन्टी नेपालले जनाएको छ । 

कसरी खुल्यो नयाँ क्षेत्रमा अवसर    

जापानले नेपाल बाहेक अन्य केही मुलुकबाट यो क्षेत्रमा श्रमिक लैजाने गरेको थियो । त्यसैले नेपाली एजेन्टहरुले नेपाली श्रमिकलाई म्यानमार, फिलिपिन्स, श्रीलंका लगायतका मुलुकमा लगेर परीक्षा दिन लगाउने गरेको प्लेन्टी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । ‘अन्य देशमा गएर परीक्षा दिन लगाएर यो क्षेत्रमा नेपाली एजेन्टहरुले यस अघि नेपाली श्रमिक पठाउँदै आएका थिए । त्यस्तै केहीले त नेपालबाट पर्यटन भिसामा जापान पठाउने, जापानबाट नै यो क्षेत्रको लागि परीक्षा दिन लगाउने अनि फेरी नेपाल फर्काएर सोही भिसामा जापान पठाउने समेत गरेका थिए,’ उनले भने । 

तर, यो प्रक्रिया धेरै खर्चिलो थियो । त्यसैले प्लेन्टी नेपालले नेपालबाटै सहज तरिकाले नयाँ क्षेत्रमा अवसर खुलाएको उनले दाबी गरे । ‘यो क्षेत्रमा जापान गएर काम गरेर फर्किनेले भोलि नेपालमा आएर पनि यस क्षेत्रमा निकै राम्रो गर्न सक्नेछन्,’ उनले भने । हाम्रो देश पर्यटनसँग जोडिएको देश हो । पर्यटन भन्ने वितिकै हस्पिटालिटी तथा सरसफाइ सुरुमा पर्छ । नेपालमा स्टार होटल बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय होटल पनि बढ्दै छन् । अबको चार, पाँच वर्षमा यो दोब्बर हुन्छ । यो क्षेत्रमा दक्ष कामदारको आवश्यकता पनि बढ्दै गइरहेका छ । यस्तोमा हामीले जापानमा काम गरेर आएका विश्व स्तरका जनशक्ति उत्पादन गर्न सक्यौं भने नेपालको पर्यटन क्षेत्रको स्तर पनि आफै उकासिने उनले बताए ।