शीर्षकहरू

जिबी, रवि र छविसहित चार जनालाई कारबाही गर्न सिफारिस

जिबी, रवि र छविसहित चार जनालाई कारबाही गर्न सिफारिस

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरूलाई कारबाहीको सिफारिस गरेको छ । समितिले अध्यक्ष गितेन्द्रबाबु राई (जिबी), सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको लागि सिफारिस गरेको हो ।    

सहकारीबाट रकमबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम जीबी राई र रवि लामिछानेले चेक काटेर खर्च गरेका छन् । समितिले तयार पारेको प्रतिवेदनमा पैसा खर्च गर्न रविको संलग्नता रहेकाले कारबाहीको सिफारिस गरेको उल्लेख छ । 

प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’  

कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न भन्न नमिल्ने समेत प्रतिवेदनमा उल्लेख छ । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्ने समितिको निष्कर्ष छ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतमा कम्पनीहरूमा शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘गोरखा मिडिया नेटवर्क प्रालि लगायतमा कम्पनीहरूमा शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र वेट शेयर सम्बन्धी कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’ 

 

कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रा. लि. मा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि., काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लि., वीरगञ्जका सञ्चालक एवं निर्णयप्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने समितिको निष्कर्ष छ ।  

यसैगरी कम्पनीमा रकम पठाएको देखिएका इमेज बचत तथा ऋण सहकारी संस्था लि., समानता बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी लि., आइएमई को-अपरेटिभ्स र यस्तै कानुन विपरीतको कार्य गरेका सहकारी संस्थाका सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने प्रतिवेदनमा उल्लेख छ ।