शीर्षकहरू

छानविन समितिको निष्कर्ष: ‘सहकारीमा विवाहदेखि ऋणीसम्म नक्कली छन्’

छानविन समितिको निष्कर्ष: ‘सहकारीमा विवाहदेखि ऋणीसम्म नक्कली छन्’

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले नेपालको सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको समितिको प्रतिवेदनमा यस्तो उल्लेख छ । 

प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्दै नेपालको सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको जानकारी दिए । 

बैठकमा थापाले भने, ‘खासगरि नेपालको सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह फेक छन्, अंशबन्डा फेक छन् । पुनः विवाह पनि फेक गरिएका छन् । साधारण सभा फेक छन् । प्रतिवेदन फेक प्रस्तुत गरिन्छ । शेयर सदस्य फेक बनाइन्छ । ऋणी फेक छन् । गायक रामकृष्ण ढकाल फेक ऋणीकारुपमा प्रताडना खेपिरहेका छन् । मानिसहरूका आश्वासन फेक छन् । खाता फेक छन् । लेखा परीक्षण रिपोर्ट फके छन् । बचन, कार्य प्रणाली फेक छन् । कानुन विपरीतका काम भइरहेका छन् ।’ 

अर्थतन्त्रका तीन पिलरमध्ये सहकारीको पिल्लर ढल्न लागेको थापाले बताए । उनले भने, ‘तीनवटा पिलरमध्ये सहकारी क्षेत्र सबैभन्दा कमजोर बाँसको पिलरका रूपमा रहेको छ । निजी क्षेत्र फलामको पिलर, सार्वजनिक क्षेत्र काठको पिलर र सहकारी क्षेत्र बाँसको कमजोर पिलर भएको छ । जताको पिलर कमजोर हुन्छ भार त्यतै जाने हुँदा थप कमजोर हुने समस्या छ ।’ 

अविश्वासको कालो बादल सहकारी क्षेत्रमा मडारिन खोजिरहेकोले त्यसलाई फाट्ने वातावरण निर्माण हुनु पर्ने उनले सुझाव दिए । 

मुलुकको समग्र वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा कानुन विपरीत बचतकर्ताको बचत रकम दुरुपयोग भएको भनि प्रतिनिधि सभामा सांसदहरूले संसदिय छानविन समितिको माग गरेका थिए । सोही अनुसार २०८१ जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनेको थियो ।