शीर्षकहरू

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू सबैभन्दा बढी समस्यामा: प्रतिवेदन

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू सबैभन्दा बढी समस्यामा: प्रतिवेदन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् । 

प्रतिवेदन पेस गर्दै थापाले छानबिनको क्रममा ६६ पटक बैठक बसेको जानकारी दिए । सहकारी ठगीको आरोप लागेका २९ जना फरार अभियुक्तलाई सोधपुछ गर्न खोजी गरी समिति समक्ष उपस्थित गराउन समेत समितिले सरकारलाई निर्देशन दिएको थियो । 

‘समितिमा सहकारी सम्बन्धी विभिन्न उजुरी तथा निवेदनहरु परेका थिए । ती उजुरीहरूको सम्बोधनमा समिति लागि पर्‍यो । मुलुकमा सहकारी समस्या एउटा विकराल राष्ट्रिय समस्या बनिरहँदा समितिले यस समस्याको जरैदेखि पहिचान तथा समाधान गर्नेक्रममा समितिले सरोकारवाला विभिन्न निकायहरू परामर्श, तथ्य र जाँचका लागि पत्राचार, छलफल, अन्तरक्रिया र सोधपुक्ष गरिएको छ’, थापाले भने । 

उनका अनुसार समितिले छलफल तथा जानकारी लिने प्रयोजनका लागि ५६ वटा बैठक गरेको छ । समितिको पछिल्लो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका थिए । १४ वटा बैठकमा सहकारी रहको अपचलन तथा दुरुपयोग गरेको आरोप लागेकाहरू ४७ जना सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्क प्रालीका सञ्चालक तथा कर्मचारीहरूको समेत तीन जना र नियामक निकायका ५ जना समेत गरी ५५ जनासँग सोधपुछ गरिएको छ । 

समितिले ४० वटा सहकारी संस्थाहरूको वित्तीय विश्लेषण गरेको छ । जो आज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन् । यी संस्थाहरू बचत दुरुपयोगको समस्याबाट समेत गुज्रिरहेका छन् । सबैभन्दा बढी बचत तथा ऋणको कारोबार गरिरहेका सहकारीहरू समस्या देखिएको समेत समितिको निष्कर्ष रहेको छ । 

‘सहकारी बचतकर्ताहरूको रकम लगानी गरी खरिद गरिएका सम्पत्ति धितो राखी ऋण लिएकोमा बैंक तथा वित्तीय संस्थाहरूले त्यस्तो धितोलाई ऋण मूल्यमै सकार गरिने गरेको पाइएको छ । यसले बचतकर्ताहरूलाई सोझै अन्याय हुने गरेको हामीले पायक छौँ’, थापाले भने ।