काठमाडौं । सहकारी रकम अपचलनमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गरी तयार गरिएको सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले तयार गरेको प्रतिवेदनमा सातै सदस्यले हस्ताक्षर गरेका छन् ।
प्रतिवेदनमा रास्वपाबाट समितिका सदस्य शिशिर खनालले पनि हस्ताक्षर गरेपछि उक्त प्रतिवेदन आज प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी अघि बढाइएको छ ।
नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा गठित समितिमा एमालेबाट थापासहित सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र बडू, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका थिए । उनीहरू सबैले प्रतिवेदनमा हस्ताक्षर गरेको समितिका एक सदस्यले बताए ।
लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा सहकारी रकम अपचलनमा दोषी देखिएको उनको नामै उल्लेख गरेर प्रतिवेदन तयार गरिएको छ ।
जारी प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गर्ने राखिएको छ ।