शीर्षकहरू

रविलाई दोषी ठहर गरिएको छानबिन समिति प्रतिवेदन संसद्‌मा पेस हुँदै, सार्वजनिक नहुने

रविलाई दोषी ठहर गरिएको छानबिन समिति प्रतिवेदन संसद्‌मा पेस हुँदै, सार्वजनिक नहुने

काठमाडौं । सहकारी रकम अपचलनमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरी तयार गरिएको सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले तयार गरेको प्रतिवेदन आज प्रतिनिधिसभाको बैठकमा पेस हुँदैछ । जारी प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गर्ने राखिएको छ ।

समितिले लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सञ्चालक छविलाल जोशीसहित तीन जनाले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । तीन जनाको नामको संयुक्त खातामा लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम सहकारीबाट आएको, कम्पनीको लगानी, ऋढ र सम्पत्तिसहितको प्रतिवेदनमा जीबी राईसहित लामिछानेको संयुक्त हस्ताक्षर, कम्पनी रजिस्ट्रारको कार्यलयमा लामिछानेको हस्ताक्षर र औँठा छापसहित गैरकानुनी तरिकाले १५ प्रतिशत शेयरका लागि रकम बुझाएको स्टेटमेन्टलगायतका प्रमाणसहित प्रतिवेदन तयार गरिएको छ ।

उक्त प्रतिवेदन संसद्‌मा पेस गर्न अहिले प्रतिवेदन विधायन समितिकाे कार्यकक्षमा छपाइ भइरहेको छ । समितिले २ हजार पृष्ठको प्रतिवेदन तयार गरी संसद्‌मा पेस गर्ने तयारी गरे पनि उक्त प्रतिवेदन आजै सार्वजनिक नहुने भएको छ । समितका सभापति सूर्य थापाले भने, 'आज संसद्‌मा पेस हुन्छ र संसद्‌ले पास गरेपछि सभामुखले सरकारलाई पठाउन रुलिङ गर्नुहुन्छ, त्यसपछि प्रतिवेदन सार्वजनिक हुन्छ ।'

लामिछानेमाथि सहकारी अपचलनको आरोप लागेपछि नेपाली कांग्रेससहित विपक्षी दलहरूले संसद्‍ अवरुद्ध गर्दै संसदीय छानबिन समिति बनाउन माग गरेका थिए । गत जेठ १५ गते सरकारले नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।